
चितवनः नारायणगढ वजारमा संञ्चालनमा रहेको होटल तथा रेष्टुरेन्टहरुले खाध्यन्नमा अखाध्य रंग मिसावट गर्ने गरेको पाईएको छ । खाद्य प्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालय चितवन र जिल्ला प्रशासन कार्यालय चितवनको संयुक्त अनुगमन टोलीले आज नारायणगढको लायन्सचोक क्षेत्रमा रहेका सात वटा होटल तथा रेष्टुरेन्टको अनुगमनका क्रममा यस्तो पाईएको हो । ती होटल तथा रेष्टुरेन्टहरुले मापदण्ड विपरितका रंगहरुको प्रयोग गरेको खाध्य निरिक्षक प्रदिप काफ्लेले जानकारी दिनु भयो ।
काफ्लेका अनुसार श्रेष्ठ तन्दुरी रेष्टुरेष्ट एण्ड थकाली भान्साघर, मुगल किचन, ग्राउण्ड जिरो, मामाघर रेष्टुरेन्टमा अत्याधिक रंगको प्रयोग गरेको पाईएको हो । यस्तै अनुगमन भएका होटलहरुमा भान्साको ब्यवस्थापनमा निकै कमजोरी देखिएको खाद्य निरिक्षक काफलेले जानकारी दिनु भयो ।
लायन्सचोकमा रहेको ट्रेन्स मम कर्नर, एभरेष्ट मम रेष्टुरेष्ट, मुगल किचन, मामाघर रेष्टुरेन्ट, मान्द्रो किचन र श्रेष्ठ तन्दुरीको भान्छामा काम गर्ने व्यक्तिलाई पोशाकको व्यवस्था गर्न निर्देशन दिईएको थियो । अनुगमन टोलीले अनुगमन गरेको रेष्टुरेन्टबाट धेरैदिन देखि फ्रिजमा राखिएको खाने वस्तुहरु नष्ट समेत गरिएको काफ्लेले वताउनु भयो ।
निरिक्षण भएका सवै होटल तथा रेष्टुरेन्टका संचालक सहित मुख्य भान्सेलाई दुई दिन भित्र खाद्य निरिक्षण कार्यालयमा सम्पर्क गर्न निर्देशन दिईएको छ ।