चितनवः पश्चिम चितवनको रामपुरमा निर्माण सुरु भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम सुरक्षाका कारण नरोकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयले आज विज्ञप्ति जारी गरि सो क्षेत्रको सुरक्षाका लागि प्रहरी नायव निरिक्षकको नेतृत्वमा एक टोलि त्यहि वसेर खटिएको जनाएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १५ रामपुरमा धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्न लागेको राष्ट्रिय गौरव बोकेको उक्त रंगशाला निर्माणमा सुरक्षाको कमि नभएको बिज्ञप्तिमा उल्लेख छ । विभिन्न सञ्चार माध्यमहरुले सुरक्षाको कारण देखाइ रंगशाला निर्माणको भविष्यप्रति प्रश्न उठाइ घटनालाई अतिरन्जितपूर्ण बनाइ भ्रमपूर्ण समाचार प्रशारण गरिरहेको भन्दै प्रहरी कार्यालयले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । रंगशाला निर्माण स्थलमा २४ सै घण्टा प्रहरी टोली खटाउने व्यवस्था मिलाइएको बिज्ञप्तिमा उल्लेख छ । गत जेठ १५ गते रंगशालामा लगाईएको पश्चिम तर्फको वार स्थानीयले भत्काए पछि काम रोकीएको छ । फाउण्डेसनले रु ३ अर्व भन्दा वढि खर्च गरि रंगशाला निर्माण गर्न लागेको हो । रंगशालाका लागि देश र विदेशमा आर्थिक संकलन हुने क्रम जारी रहेको छ ।