
चितवनः तपाईलाई सुन्दा अचम्म लाग्न सक्छ । कसैको घर परिवारबाट २१ औ पुस्ता सम्म कुनै मन्दिरको मुल पुजारी छन् भन्दा । तर यो वास्तबिकता हो । गोर्खाको मनकामना मन्दीरमा एउटै परिवारको २१ औ पुस्ता मुल पुजारीको रुपमा अहिले पनि काम गरिरहेका छन् ।
मन्दिरका मुल पुजारी ईन्सान वहादुर थापा मगरका अनुसार उहाँको घर परिवारको २१ औं पुस्ताको रुपमा मगर पुजारी वन्नुभएको हो । उहाँको भनाईमा राजा राम शाहको रानीको नामबाट मनकामना मन्दिर रहेको छ । राजपरिवारमा सुसारेको रुपमा रहनु भएका लखन थापा मगरका पाला देखि यस मन्दिरमा ईन्सानको घर परिवारले मुख्य पुजारीको रुपमा काम गर्दै आएको छ ।
उहाँले भन्नुभयो “यसको स्थापना देखि नै मगर समुदाय मुल पुजारी हो । २१ औं पुस्ता हो अहिलेको । बुबा लोक बहादुर थापा र वाजे प्रेम बहादु थापा पनि यहाँकै पुजारी हुनुहुन्थ्यो ।” लखन थापा मगर राज परिवारको सुशारे हुदैं गर्दा राजाको निधन पछि रानी सति जाने समयमा उहाँलाई म तिमीलाई फेरी मेरो सेवा गर्ने मौका दिने छु भनि सति गएको र पछि खेतमा जोत्दा शिला भेटिए पछि मन्दिर स्थापन गरी पुजा गर्न लागिएको उहाँले वताउनु भयो ।
अहिले मनकामना मन्दिरमा सोहि बंशजको जेठो छोराले मुल पुजारीको रुपमा काम गर्दै आएका छन् । आँफुले वि.सं. २०२६ सालमा १० वर्षको उमेर देखि पुजारीको रुपमा काम गर्दै आएकोमा त्यसको १४ वर्ष पछि मुल पुजारीको भूमिकामा काम गर्दै आएको उहाँले बताउनु भयो । काकाले बाबुको शेष पछि आँफु मुल पुजारी हुनु पर्ने भन्दै सर्वोच्चमा रिट दायर गरेको भए पनि आफ्नै पक्षमा फैसला भए पछि आँफुले मुल पुजारीको रुपमा २०४० साल देखि काम गरिरहेको बताउनु भयो । आफ्ना कानुन विषय अध्ययन गरेको जेठो छोरा निसानले अहिले पुजारीको कर्म सिकिरहेको उहाँले बताउनु भयो ।
सन्तानमा जेठो छोरा नभएर छोरी भएमा भाईमा मुल पुजारीको जिम्मेवारी सर्ने उहाँको भनाई छ ।
मन्दिरमा मुल पुजारी सहित पाँच जना पुजारीले काम गर्दै आएका छन् । शहिद लखन गाउँपालिका वडा नम्बर २ मा पर्ने सो मन्दिर स्थापना काल देखिनै पुजारीको रुपमा रहेका मगर समुदाय हरेक पर्वमा मन्दिरमा हुने पुजामा काठमाडौंबाट तान्त्रीक गुरुहरु समेत आउने गरेका छन् । अहिले मन्दिरमा रहेका पुजारीहरु मध्ये एक जना व्रामण समुदायको र अन्य मुल पुजारी मगर कै घर परिवारका सदस्य रहेका छन् । त्यहाँ उठेको भेटीले यी सबै खर्च पुर्याउनु पर्ने मगरले बताउनु भयो ।
मनकामना देविको शक्ति अजिवको रहेको चर्चा गर्दै उहाँले देशमा भएका महत्वपूर्ण घटनाहरुमा अग्रिम लक्ष्यण प्राप्त हुने वताउनु भयो । उहाँले यस विषयमा धेरै कुरा गर्न नचाहे पनि दरवार हत्या काण्ड, महाभूकम्प जस्ता घटनामा आँफुलाई पहिलेनै लक्ष्यण दिएको बताउनु भयो । मनकामना केवुलकार वन्ने विषयमा पनि पहिलेनै लक्ष्यण थाहा भएको उहाँले बताउनु भयो ।
मुल पुजारी मगरका अनुसार उनीहरु नियमीत चोखो निस्ट भएर पुजा कर्ममा सहभागि हुन पर्दछ । घर परिवारमा जुठो पर्दा कुटुम्वले यो काम हेर्ने गरेको उहाँले बताउनु भयो । ठूला ठूला पुजा आजामा मदिरा नभई नहुने उहाँले बताउनु भयो । प्रसादको रुपमा खानै पर्ने भएकाले पूर्णीमाको पुजा र अन्य पुजाहरुमा यसको प्रयोग गर्ने गरे पनि अन्य समयमा भने प्रयोग नगर्ने गरेको उहाँको भनाई छ ।
मुल पुजारी मगर पहिलेको तुलनामा अहिले भक्तजनहरुको चाप वढ्दै गएको बताउनु हुन्छ । सुरुवाति समयमा मंसिर, पुस, माघ र फागुन महिनाको, शनिबार, सोमबार, मंगलबार र शुक्रबार भक्तजनहरुको भिड लाग्ने गरेको बताउँदै उहाँले अहिले जुन सुकै बार पनि भक्तजनहरुको घुईचो हुने बताउनु भयो । उहाँले भन्नुभयो “सुरुका दिनहरुमा धेरै भनेका २ देखि ३ हजार भक्तजन हुन्थे अहिले वढि हुँदा २० हजार सम्म हुन्छन् । ”
मन्दिरमा अहिले भक्तजनको चाप संगै क्षेत्रफल साँघुरो हुँदै गएको महशुस हुदै आएको छ । यस क्षेत्रमा धर्मशाला आबश्यक रहेको बताउँदै मुल पुजारी मगरले यहाँका पसलहरुको मांस मदिरा नियन्त्रण मुख्य समस्याको रुपमा रहेको बताउनु भयो ।