चितवनः उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष राजाराम रेग्मी आज धरौटिमा रिहा हुनु भएको छ । रेग्मीलाई प्रहरीले बुधबार पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुरको गोन्द्राङमा रहेको सडक बोर्डको दस्तुर सङ्कलन केन्द्रमा गत शुक्रबार आगजनी र तोडफोड अभियोगमा प्रहरीले पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता प्रहरी नायव उपरिक्षक दुर्गाराज रेग्मीका अनुसार उहाँ जिल्ला प्रशासन कार्यालय चितवनमा रु ५४ हजार धरौटी जम्मा गरि रिहा हुनु भएको हो । यस अघि पक्राउ परेका तीन जनाले पनि सोहि रकम वराबर धरौटि जम्मा गरि रिहा भएका थिए ।
सो अभियोगमा रत्ननगर नगरपालिका वडा नम्बर ९ का कुलप्रसाद लामिछाने,राप्ती नगरपालिका वडा नम्बर ८ का खिलप्रसाद घिमिरे र रेष्टुरेन्ट एण्ड बार एशोशिएसन सौराहाका अध्यक्ष गोकर्ण गिरी पक्राउ परी धरौटी राखेर रिहा हुनु भएको थियो ।
घटनाका समयमा लिइएको भिडियोका आधारमा उहाँहरुलाई पक्राउ गरिएको थियो । संकलन केन्द्रमा आगजनी, तोडफोडसँगै रकम लुटिएको भन्दै सडक दस्तुर सङ्कलनको ठेक्का पाएको ब्रिटानिक मौलाकालिका कन्ट्रक्सन प्रालीले रेग्मी सहीत उहाँहरु बिरुद्ध प्रहरीमा उजुरी दर्ता गरेको थियो । सो कम्पनीका अध्यक्ष अमृत भट्टचनले आगजनी, लुटपाट र तोडफोडका साथै करीब चार लाख रुपैयाँ समेत लुटिएकाले उजुरी गर्नु भएको थियो । प्रदेशसभा सदस्य कृष्ण खनालकै उपस्थितिमा भएको सो घटनामा प्रहरी सहायक निरीक्षक कल्पना खड्का जलेर गम्भीर घाइते हुनु भएको छ । उहाँको चितवन मेडीकल कलेजमा उपचार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस !