चितवनः नेपाल रेडक्रस सोसाईटी चितवन शाखाले जिल्लामा एक सय वटा गाई बितरण गरेको छ । सोसाईटीको केन्द्रले जिवीको पार्जन कार्यक्रम अन्तर्गत कतारीयन रेडक्रिसेन्टको सहयोगमा यहाँका बिभिन्न ठाउँका कृषकहरुलाई गाई बितरण गरेको हो । यस संगै ६ सय परिवारलाई मल र विउ बितरण गरिएको छ ।
शाखा सभापति ज्ञानशाली न्यौपानेका अनुसार माडी नगरपालिकामा ६० वटा, भरतपुर महानगरपालिकाको जगतपुरमा १५ वटा, मंगलपुरमा १५ वटा र राप्तिको पिप्लेमा १० वटा गाई बितरण गरिएको हो । वन्यजन्तुको आक्रमण र वाढिबाट प्रभाबित क्षेत्रका वासिन्दालाई गाई र मल बिउ बितरण गरिएको हो ।
माडीका सबै क्षेत्र संगै भरतपुरको जगतपुरमा रेडक्रस ग्राम र मंगलपुरमा नारयणी तटिय क्षेत्रमा गाई वितरण गरिएको सभापति न्यौपानेले बताउनु भयो । पिप्लेमा पनि वाढीबाट प्रभाबित भएकाहरुलाई लक्षित गरि गाई बितरण गरिएको हो । न्यौपानेका अनुसार एउटा गाई खरिदका लागि कृषकलाई रु ५५ हजार सोसाईटीले उपलव्ध गराएको थियो ।
एक छाकमा कम्तिमा पाँच लिटर दुध दिने र दुई वेत भन्दा वढि नव्याएका गाई स्वयम कृषकलाई खरिद गर्न लगाएर सोसाईटीले अनुदान सहयोग गरेको हो । न्यौपानेले कृषकले गाई किन्दा रु ५५ हजार देखि १ लाख २ हजार सम्मका गाई खरिद गरेको बताउनु भयो । नपुग रकम कृषक आँफैले थप गरेर गाई किनेका हुन ।
रेडक्रसको सम्बन्धित उपशाखाका प्रतिनिधि र स्थानीय तहका जनप्रतिनिधिको रोहोवरमा कृषक छनोट गरिएको हो । कृषक छनोट गर्दा गरिब र काममा जाँगरिला कृषक छनोट गरिएको सोसाईटीले जनाएको छ । ती गाईको बिमा समेत गरिएको छ । यसै गरि पिप्ले वाहेकका गाई बितरण गरिएका तीन क्षेत्रका ६ सय परिवारलाई सोसाईटीले मकैको विउ र मल बितरण गरेको छ ।
एक परिवारलाई ५ किलो रामपुर कम्पोजिट मकैको बिउ र ५÷५ किलो डिएपि र युरिया मल बितरण गरिएको न्यौपानेले जानकारी दिनु भयो । कृषकलाई गाई र विउ मल दिनु अघि र पछि तालिम समेत दिईएको छ ।