चितवनः जिल्ला प्रहरी कार्यालय चितवनले कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरका कृषि संकायका सहायक डिन प्रा. विष्णुराज ओझा माथि कालोमुसो दलेर दुव्र्यवहार गर्ने ६ जना विद्यार्थीलाई पक्राउ गरेको छ । कार्यालयका प्रबक्ता प्रहरी नायव उपरिक्षक दुर्गाराज रेग्मीका अनुसार उनीहरुलाई आज विहान रामपुर क्याम्पस परिषरवाट पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरुमा सन्तोष खतिवडा, गोपाल थापा, बामदेव रेग्मी, मिलन चौहान, विभोर गौली र सुशन पौडेल रहेका छन् । सुचनाको आधारमा बिद्यार्थीहरुलाई पक्राउ गरिएको हो । कालोमुसो दले संगै प्रा. ओझाले जिल्ला प्रहरी कार्यालय चितवनमा अभद्र व्यवहारको किटानी जाहेरी दर्ता गर्नु भएको थियो ।
यस अघि उनीहरुलाई विश्वविद्यालय कार्यकारी परिषद्को बैंठकले दुई महिनाका लागि क्याम्पसबाट निष्कासन गरेको थियो ।
विद्यार्थीहरुको समूहले गत चैत २१ गते विश्वविद्यालयका सहायक डिन ओझामाथि बिभिन्न आरोप लगाउँदै विश्वबिद्यालय परिसरमा दुव्र्यवहार गरेको थियो । सो घटना पछि प्रजातन्त्रवादी प्राध्यापक संघले आन्दोलनका कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस !