चितवनः चितवन राष्ट्रिय निकुञ्जमा साहकारी जनावारको संख्यामा वृद्धि संगै निकुञ्जले घासे मैदान लाई व्यवस्थित गर्ने कामलाई तिब्रता दिएको छ । आँफु संग भएको वजेटले प्रयाप्त क्षेत्रफलमा व्यवस्थापन गर्न कठिन भए पछि निकुञ्जले दाताहरुको सहयोगमा घाँसे मैदान व्यवस्थापनको कामलाई तिब्रता दिएको हो ।
वन्यजन्तुलाई आबश्यक मात्रामा घासे मैदानको अभावका कारण वस्ती पस्ने गरेका छन् । निकुञ्जमा दाताको सहयोगमा ८६ हेक्टर क्षेत्रफलमा घाँसे मैदान व्यवस्थापन गरिरहेको छ । नियमीत घाँस व्यवस्थापन थोरै क्षेत्रफलमा हुँदा घाँसको अभावमा वन्यजन्तु वस्ती पस्न थाले पछि निकुञ्जको आग्रह र दाताहरुको सहयोगमा थप क्षेत्रमा घाँसे मैदान व्यवस्थापन गर्न थालिएको हो ।

निकुञ्जका सुचना अधिकारी गोपाल घिमिरेका अनुसार निकुञ्जको पश्चिमी क्षेत्रको ट्याम्पल टाईगर नजिकै ३५ हेक्टरमा घाँसे मैदान व्यवस्थापनको काम सुरु भएको छ । ताल परियोजनाको सहयोगमा रु १८ लाख खर्च गरेर घाँस व्यवस्थापन गर्न सुरु गरिएको हो ।
यसैगरि निकुञ्जको पश्चिम क्षेत्रमा रहेको खोरीया मुहान र टाईगर टप क्षेत्रमा २५ दशमलब ५ हेक्टरका दरले ५१ हेक्टरमा घाँसे मैदान व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ । जेडएसएल नामक दाताको रु २५ लाखको सहयोगमा सो क्षेत्रमा घाँसे मैदान व्यवस्थापन थालिएको हो ।
निकुञ्जको नियमीत कार्यक्रम अन्तर्गत बिभिन्न १५ ठाउँमा ८० हेक्टर क्षेत्रफलमा घाँसे मैदान व्यवस्थापनको काम सम्पन्न भएको छ । एक पटक घाँसे मैदान व्यवस्थापन गर्दा एक हेक्टरमा रु ५० हजार हाराहारी खर्च हुने गरेको छ । घिमिरेका अनुसार अग्ला ठूला ढड्डी फाँड्ने, घाँसलाई अतिक्रमण गर्ने झार र बुट्यान उखेल्ने, अग्ला घाँस काट्ने जस्ता काम व्यक्ति मार्फत गरिदै आएको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार वजेट अभावमा आबश्यक मात्रामा घाँस व्यवस्थापन गर्न कठिन हुँने गरेको छ । निकुञ्जमा १० हजार हेक्टर क्षेत्रफलमा घाँस रहेको छ । जस मध्ये एक हजार हेक्टर क्षेत्रफल व्यवस्थापन गर्नु पर्ने भए पनि हरेक वर्ष २ सय हेक्टर हाराहारी मात्र व्यवस्थापन हुँदै आएको छ । जसका कारण निकुञ्ज भित्रका वन्यजन्तु घाँस खोजिको लागि वस्ती पस्ने गरेका छन् ।
ढकालले निजि क्षेत्र संग सहकार्य गरेर काटेर र जलाएर फाल्ने घाँसलाई दानाको रुपमा प्रयोग गर्न सके राज्यको खर्च बिना धेरै क्षेत्रफलमा घाँस व्यवस्थापन गर्न सकिने बताउनु भयो । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका अनुसन्धान निर्देशक डा. नवराज देवकोटाका अनुसार निकुञ्ज भित्रको घाँसको पोषण तत्व कम रहेको र पाचन कम हुने गरेको अनुसन्धानले देखाएको छ । उहाँले सहकार्य गरेर पोषण युक्त घाँस क्रमश बिस्तार गर्दै लगेमा भबिश्यमा वन्यजन्तु र घरपालुवा जनावरलाई प्रयोग गर्न सकिने बताउनु भयो ।
राम्रो घाँस भएमा हरियो घाँसलाई हावा छिर्न नदिएर जस्ताको तस्तै राखेर घरपालुवा जनावरलाई समेत खुवाउन सकीने (साईलेज) वनाउन समेत उपयुक्त हुने देवकोटाले बताउनु भयो । निकुञ्जले चाहेमा विश्वविद्यालयले सहकार्य गरेर काम गर्न सक्ने पनि देवकोटाले जानकारी दिनु भयो ।

निकुञ्ज विशेष गरेर एक सिंगे गैंडा र पाटे बाघको लागि प्रख्यात छ । यस निकुञ्जमा ४३ प्रजातिका स्तनधारी प्राणी, ४ सय ५० प्रजातीका चराचुरूङ्गी र ४५ प्रजातिका जलथलचर तथा घस्रने प्राणीहरू संगै १ सय भन्दा बढि जातका माछाहरू पाइन्छ । यहाँ पाइने प्रमुख स्तनधारी प्राणीहरूमा हरिण, चित्तल, बाँदर तथा लंगुर बाँदर आदि पर्दछन ।

प्रतिक्रिया दिनुहोस !