चितवनः आयुर्वेद औषधि तर्फ बिरामीको चाप वढे संगै भरतपुर महानगरपालिकाको दुई स्थानमा आयुर्वेद औषधालय संञ्चालनमा ल्याईएको छ । पछिल्लो समयमा नसर्ने रोको संक्रमण वढ्दै जाँदा बिरामीहरुको आयुर्वेद औषधि तर्फको आकर्षण वढ्दै गएको हो ।
जिल्लामा चालु आर्थिक वर्षमा २५ हजार भन्दा वढिले आयुर्वेद औषधालयबाट उपचार लिई सकेका छन् । यो क्रम वढ्दो मात्रामा रहेको छ । अघिल्लो आर्थिक वर्ष ३५ हजारले सेवा लिएका थिए । यसरी सेवा लिन आउनेमा नसर्ने रोग, मुटुको, फोक्सोको, स्वासप्रस्वास, क्यान्सर लगाएतका बिरामीहरु रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चितवनका प्रमुख डा. रामप्रवोध मण्डलले जानकारी दिनु भयो ।
मानव शरिरलाई प्रतिकुल असर नगर्ने भएका कारण यस तर्फको आकर्षण वढ्दै गएको हो । यसलाई नै मध्यनजर गर्दै सामाजिक बिकास मन्त्रालय स्वास्थ्य निर्देशनालय प्रदेश नम्बर ३ को महानगरपालिका स्वास्थ्य आयुर्वेद जीवनशैली व्यवस्थापन सम्बन्धि परियोजना अन्तर्गत भरतपुर महानगरपालिका वडा नम्बर १ देवघाट र वडा नम्बर ११ को स्वास्थ्य शहरी क्लिनीकमा औषधालय संञ्चालनमा ल्याईएको हो ।
औषधालयको बुधबार भरतपुर महानगरपालिका उपप्रमुख पार्बती शाहले एक समारोहका बिच उद्घाटन गर्नु भएको हो । देवघाटमा वृद्धवृद्धाहरुलाई लक्षित गरि निशुल्क स्वास्थ्य परिक्षण तथा औषधि बितरण गरिने छ भने भरतपुर महानगरपालिका वडा नम्बर ११ को शहरी स्वास्थ्य क्लिनीकमा नियमित परिक्षण संगै औषधि बितरण गरिने निर्देशनालयका आयुर्वेद शाखा प्रमुख डा. झुलाराम अधिकारीले जानकारी दिनु भयो ।
अधिकारीका अनुसार प्रदेश सरकारले नमुना परियोजनाको रुपमा ललितपुर महानगरपालिका र भरतपुर महानगरपालिकामा कार्यक्रम सुरु गरेको हो । यसको प्रभावकारीता मुल्याङ्कन गर्दै सबै स्थानीयतहहरुमा कार्यक्रमहरु संञ्चालन गरिने उहाँले जानकारी दिनु भयो ।
चितवनमा हाल आठवटा आयुर्वेद औषधालय संञ्चालनमा रहेका छन् । यी दुई संगै १० ठाउँ पुगेको छ । वर्षेनी आयुर्वेद औषधि तर्फ सर्बसाधारणको ध्यान केन्द्रित हुदै गए संगै नमुना परियोजनाको रुपमा काम थालिएको हो ।
दुवै औषधालयको एकैसाथ उद्घाटन गर्नुहुँदै महानगर उपप्रमुख शाहले हाम्रो गाउँघरकै जडिबुटीलाई प्राथमिकतामा राख्न सकेमा हाम्रो शरिरलाई फाईदा पुग्ने बताउनु भयो । अवको समाज मौलिक चिकित्सा तर्फ केन्द्रित हुन नसकेको खण्डमा मानव जीवनमा सर्ने र नसर्ने रोगको संक्रमण वढ्ने उहाँको भनाई थियो ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद सुवेदीले आयुर्वेदीक औषधिले शरिरलाई प्रतिकुल असर नगर्ने भएकाले यसको प्रयोग वढाउनु पर्ने बताउनु भयो । कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष वावुराम अधिकारी, निर्देशनालयका उप स्वास्थ्य प्रशासक डा. राम वहादुर केसी लगाएतले बोल्नु भएको थियो ।