हिन्दू राष्ट्र पुनर्स्थापनालगायतका २२ बुँदे माग राख्दै आन्दोलनरत राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सरकारले वार्तामा बोलाएको छ । आन्दोलतरत राप्रपालाई वार्ताबाट समाधान खोज्न भन्दै आइतबार सरकारले पत्र मार्फत आह्वान गरेको हो ।

कानून न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकालले पत्र लेखी वार्तामा आउन आग्रह गरेका छन्। केहि दिनमै वार्ता टोली गठन गरि राप्रपाका मागका विषयमा छलफल हुने मन्त्रालयले जनाएको छ ।

गत फागुन ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई २२ बुँदे माग बुझाएर राप्रपा आन्दोलनमा उत्रिएको छ । राप्रपाले आन्दोलनको कार्यक्रम अन्तर्गत मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा, हस्ताक्षर अभियानलगायत सडक प्रदर्शन समेत गरिरहेको छ ।

गत शुक्रबार धर्म निरपेक्षताको ब्यानर जलाउने क्रममा प्रहरीले कमल थापासहितका दर्जन नेता कार्यकर्तालाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस !