चितवनः नारायणगढ–मुग्लिन सडक खण्डमा चार ठाउँमा ठूला र ठाउँठाउँमा साना पहिरा खसेपछि सडक पूर्ण सञ्चालन गर्न दिनभर लाग्ने भएको छ । सो सडकको घुमाउने, भालुढुङ्गा, चारकिलो र पाँचकिलोमा ठूला पहिरा खसेका छन् ।

डिभिजन सडक कार्यालय चितवनका ई. शिब खनालका अनुसार पहिरो पन्छाउने काम बिहान देखि सुरु भएको छ । थप पहिरो नखसेमा दिउँसो सम्ममा एक तर्फी सञ्चालन गर्न सकीने भए पनि पुरै सडक सफा गर्न साँझ सम्म लाग्ने उहाँले जानकारी दिनुभयो । ती चार ठाउँ मध्ये चार किलो र घुमाउनेमा पहिरो पन्छाउने काम भईरहेको छ ।

खनालले भन्नुभयो “ती दुई ठाउँमा एक तर्फी भए संगै उपकरण लगेर बिचका दुई पहिरो पन्छाउँछौ ।”एक तर्फी सञ्चालन गरेर त्यहाँ अड्कीएका सवारी साधन पार गराए पछि द्ुई तर्फी खुलाईने छ । सोमबार राती सुरुमा १०ः३० वजे चार किलोमा पहिरो खसेको थियो । रातको समयमा क्रमश अन्य ठाउँहरुमा पहिरो खसेको खनालले बताउनुभयो । सोमबार दिउँसो पनि सो सडक खण्डमा पहिरो खसेर सडक अबरुद्ध भएको थियो ।

साना पहिरा ठाउँठाउँमा भएकाले संख्या एकिन गर्न नसकीए पनि ती पहिरो पन्छाउन समय नलाग्ने उहाँको भनाई छ ।
यसै बिच पाँच किलोमा माथिबाट झरेको लेदोले सडक भरीएर छेउमा रहेका तीन घरमा लेदो पसेको छ । ईलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरिक्षक कञ्चन तामाङ्का अनुसार सडकमा रहेको एउटा वोलेरो र एउटा म्याजिकको टायर लेदोले भरिएको छ । अन्य दुई घरमा जग खोतलेको तामाङ्ले वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !