काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेले आयोग साना ठूला सबै भ्रष्टाचारीलाई कारवाहीको दायरामा ल्याउन लागिपरेको बताउनु भएको छ ।

अख्तियार ठूला भ्रष्टाचारीप्रति नरम र दुई चार हजार घुस खाने सामान्य कर्मचारीविरुद्ध कडा रुपमा लागेको आरोप लागिरहेका बेला घिमिरेले यस्तो बताउनुभएको हो । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा अख्तियारका प्रमुख आयुक्त घिमिरेले भन्नुभयो, “‘एक रुपैयाँ खाए पनि भ्रष्टाचार भ्रष्टाचार नै हो, हामी साना ठूला भनेर बस्दैनौं ।”
सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा घिमिरेले स्टिङ अपरेसनको पनि खुलेरै बचाउ गर्नुभयो । सेवाग्राही र सेवा प्रदायकबीचको टेलिफोन कन्भरसेसन लगायतका आधारमा मात्रै आयोगले स्टिङ अपरेसन गर्ने गरेको उहाँले जानकारी दिनुभयो ।

यस्तो अपरेसन गर्दा आयोग पूर्वाग्रही नभएको घिमिरेको दाबी छ । सार्वजनिक खरिदको निर्णयलाई पनि नीतिगत हुनै नसक्ने घिमिरे बताउँनुहुन्छ । पछिल्लो भ्रष्टाचार बढेको नभइ आयोगले सक्रियता बढाउँदा बढे जस्तो देखिएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस !