चितवनः नारायणगढ–मुग्लिन सडक खण्डका १५ वटा पुलको निर्माणको प्रकृया अघि वढेको छ । बोलपत्र आव्हान भई सम्झौता समेत भई सकेको छ ।
सडक बिभागको पुल महाशाखा प्रमुख दिपक भट्टराईका अनुसार अनक कन्ट्रक्सनलाई ३३ महिनामा काम सम्पन्न गर्ने गरि सम्झौता गरिएको छ । सो कम्पनीले पुलको डिजाईन र निर्माण गर्ने छ । जसका लागि रु १ अर्ब २७ करोड ५ लाखमा सम्झौता भएको भट्टराईले जानकारी दिनुभयो ।
सम्झौता संगै सो कम्पनीले सर्भेको काम थालेको छ । उहाँका अनुसार डिजाईनका लागि ९ महिनाको समय दिईएको छ । महाशाखाले डिजाईनलाई अनुमोदन गरेपछि पुल निर्माणको काम अघि वढ्ने छ । सो सडकको मुग्लिनबाट नारायणगढ तर्फ आउँदाका तीन पुल खहरे खोला, चिसेन्जि र तुईन खोलाको चौडाई ९ मिटर रहने छ भने अन्य सबै पुलको ११ मिटर हुने उहाँले जानकारी दिनुभयो । ती तीनपुल अफ्ठ्यारो ठाउँमा भएकाले चौडाई कम भएको हो ।
पुलमा दोहोरो सवारी साधन गुडेर छेउछेउमा फुटपाथ हुने छ । लकडाउनका कारण तिब्र गतिमा काम गर्न नपाएको भए पनि ठेकेदार कम्पनीले आन्तरिक तयारी गरिरहेको छ । ती पुल बिश्वबैंकको आर्थिक सहयोग प्राप्त हुने गरि निर्माण गर्न लागिएको हो । विश्वबैंकको प्रोग्राम फर रिजल्ट परियोजना अन्तर्गत पुल निर्माण सम्पन्न भए पछि मूल्याङ्कन (भेरीफिकेसन) गरेर मात्र ऋण रकम भूक्तानी दिने गरि पुल वनाउन लागिएको भट्टराईले जानकरी दिनुभयो ।
यस अघि सो सडक खण्डका चार वटा पुल निर्माण थालिएकोमा तीनवटा सम्पन्न भएको छ भने एउटा निर्माणाधिन रहेको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी ईन्जिनियर शिब खनालका अनुसार वन्दै गरेको जलबिरेको पुलको ७४ प्रतिशत काम सम्पन्न भएको छ । लकडाउन संगै कामदार नभएकाले काम प्रभाबित भएको उहाँले जानकारी दिनुभयो ।
सो सडक खण्ड बिस्तार गरि ९ मिटर देखि ११ मिटर सम्म फराकीलो वनाईएको छ । यद्यपी पु्ल भने पाँच देखि छ मिटर फराकीलो रहेका छन् । सडक फराकीलो र पुल साँघुरो संगै जिर्ण हुँदा समस्या हुँदै आएको छ । समयमा काम भएमा अबको ३३ महिना पछि सो सडकका सबै पुल फराकीला र मजबुत हुने छन् । यो सडक बिस्तार संगै पहिरो खस्न रोक्ने काम अन्तिम चरणमा पुगेको छ । चार किलो वाहेकका ठाउँमा पहिरो खस्न रोक्ने काम पनि सम्पन्न भएको खनालले जानकारी दिनुभयो ।
यसै सडक हुँदै राजधानी प्रबेश र बाहीरिने गरिन्छ । यो सडकमा दैनिक १० हजार हाराहारी सवारीसाधन गुड्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस !