सनद अधिकारी
नारायणगढ : राप्ती नगरपालिका–११ को बेलडाँडा पुग्दा सडकमा खसेको पहिरोले बाटो छेकेको थियो । पहिरो पन्छाएर मोटर गुड्ने बाटो बनाउने प्रयास भइरहेको थियो । एकातिर भिर, अर्कोतिर लोथर खोला । पहिरोले सडकको भाग बगाएको ठाउँबाट पारि जानुपर्ने अवस्था थियो । तल हेर्दा करिब ५०० मिटरभन्दा बढी छाँगाछुर भिर देखिन्थ्यो ।
न समाउने ठाउँ थियो, न टेक्ने भरपर्दो आधार । तल लोथर खोला सुसाइरहेको थियो । त्यही जोखिमपूर्ण बाटोबाट स्थानीय बासिन्दा वारपार गरिरहेका थिए । राप्ती नगरपालिका–१२ र १३ मा नागरिकता वितरण गर्न गएको जिल्ला प्रशासन कार्यालयको टोली पनि त्यही बाटो हुँदै अघि बढिरहेको थियो । टोलीमा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसहित जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक चन्द्रभुसन यादव, अनुसन्धान कार्यालयका प्रमुख सुरेश तिवारी तथा प्रशासन, निर्वाचनका कर्मचारी, सुरक्षाकर्मी र पत्रकार पनि हुनुहुन्थ्यो । आघिबाटौ पुग्दै गर्दा पहिरो र भिरको अवस्था देख्दा सबैको ध्यान त्यहीँ केन्द्रित थियो ।
नागरिकता बाँड्न गाउँतर्फ गएको टोलीका लागि त्यो बाटो केहीबेरको जोखिम थियो । तर त्यही बाटो स्थानीयका लागि दैनिक जीवनको हिस्सा थियो । बिरामी हुँदा यही बाटोबाट स्वास्थ्य संस्था पुग्नुपर्छ । सरकारी कामका लागि यही बाटो पार गर्नुपर्छ । बजार जान पनि यही बाटो । आफ्ना बालबालिकालाई विद्यालय पठाउन पनि यही भूगोल पार गर्नुपर्छ । त्यसैले नागरिकता लिन उनीहरू वर्षौँसम्म सदरमुकामसम्म पुग्न नसक्नुको एउटा कारण यस्तै र त्यो बाटो पनि थियो ।
राप्ती नगरपालिका–१३ कालिटारवारीसम्म पुग्न यात्रा सुरु भएपछि बाटोमा दर्जनौँपटक गाडी उकालो–ओरालो गर्नुपर्छ । कतै सडक साँघुरो छ, कतै पहिरो खसेको छ । कतै सडकको भाग बगाएको छ । कतै मोटर गुड्ने बाटो भए पनि पैदल हिँड्नसमेत कठिन देखिन्छ । भण्डाराबाट माथि लागेपछि भूगोल क्रमशः विकट हुँदै जान्छ । सडकको ट्र्याक खुलेको छ, तर वर्षात्को समयमा पहिरोले बाटो अवरुद्ध हुन्छ । कतिपय स्थानमा सडकभन्दा पहिरोको प्रभाव ठूलो देखिन्छ ।
यात्राका क्रममा कतिपय ठाउँमा विद्युत्का पोल देखिए तर पोल भए पनि तार नपुगेको ठाउँ भेटिन्छ । कतै विद्युत् लाइन पुगे पनि नियमित आपूर्तिको समस्या छ । मोटरबाटो खुलेको छ, तर त्यसमा सहज रूपमा हिँड्न वा सवारी चलाउन सकिने अवस्था छैन । यस्तो दृश्यले विकासका केही संरचना पुगे पनि तिनको पूर्ण उपयोग गर्न सक्ने अवस्था अझै बनिनसकेको देखाउँथ्यो ।
राप्ती नगरपालिका नामले नगरपालिका हो तर यसको माथिल्लो भेगमा पुग्दा राज्यका आधारभूत सेवा र सुविधासम्मको पहुँच अझै चुनौतीपूर्ण देखिन्छ । स्वास्थ्य चौकीको पहुँच, सडकको अवस्था, विद्युत् र सरकारी सेवा लिनुपर्ने नागरिकको बाध्यता सबै कुरा त्यहाँको भौगोलिक विकटतासँग जोडिएको छ । यही भूगोलमा जिल्ला प्रशासन कार्यालयले नागरिकता वितरणको कार्यक्रम राखेको थियो ।
बहत्तर वर्षमा बल्ल नागरिकता
राप्ती–१३ की विष्णुमाया प्रजा ७२ वर्ष पुग्नुभयो । जीवनको ठूलो हिस्सा उहाँले कुनै औपचारिक कागजी परिचयबिनै बिताउनुभयो । नागरिकता के हो, यसले के काम गर्छ भन्नेबारे पनि उहाँलाई राम्रो जानकारी थिएन । जिल्ला प्रशासन कार्यालयको टोली गाउँमै पुगेपछि उहाँले नागरिकता प्राप्त गर्नुभयो । नागरिकता हातमा पाएपछि प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अब उहाँले मासिक रु चार हजार सामाजिक सुरक्षा भत्ता पाउने बताउनुभयो । तर प्रजिअ अर्यालले भनेको कुरा विष्णुमायाले तत्काल बुझ्नुभएन । उहाँले ‘हँ…हँ’ मात्र गर्नुभयो ।
त्यसपछि राप्ती–१३ का वडाध्यक्ष अशोककुमार प्रजाले उहाँकै भाषामा सम्झाउनुभयो । “तपाईं अब ७२ वर्ष पुग्नुभयो । यो नागरिकता हो । अब बैंकमा खाता खोल्न मिल्छ । खाता खोलेपछि तीन महिनामा रु १२ हजारका दरले सामाजिक सुरक्षा भत्ता आउँछ”, उहाँले बुझाउनुभयो । वडाध्यक्षको कुरा बुझेपछि विष्णुमायाको मुहारमा चमक आयो । नागरिकताको महत्व बल्ल बुझे झैँ उहाँ खुसी देखिनुभयो । तर बैंकमा खाता कसरी खोल्ने, त्यसपछि के प्रक्रिया पूरा गर्ने भन्ने विषयमा भने उहाँ अझै अलमलमा हुनुहुन्थ्यो । वडाध्यक्षले सबै प्रक्रियामा सहयोग गर्ने बताएपछि उहाँ ढुक्क हुनुभयो ।
उहाँले भन्नुभयो, “परिवारमा छोराहरूको त थियो, मेरो नागरिकता बनाउनुपर्छ भन्ने नै लागेन । अब बन्यो, भत्ता पनि आउँछ रे, खुसी लाग्यो ।”  विष्णुमायाजस्तै राप्ती–१३ का ८४ जना नागरिकताविहीन व्यक्तिले त्यस दिन नागरिकता पाए । तीमध्ये ज्येष्ठ नागरिक र महिलाको सङ्ख्या उल्लेख्य रहेको वडाध्यक्ष प्रजाले बताउनुभयो । नागरिकता वितरणका लागि जिल्ला प्रशासन कार्यालयको टोली गाउँमै पुग्नुको मुख्य कारण नागरिकता बनाउन सदरमुकामसम्म आउन नसकेका नागरिकलाई सेवा दिनु थियो ।
नागरिकता बनाउन आवश्यक कागजात, प्रक्रिया र कार्यालयसम्मको पहुँचको जानकारी नहुँदा कतिपय नागरिक वर्षौँसम्म नागरिकता लिनबाट बञ्चित थिए । कतिपय ज्येष्ठ नागरिक थिए । कतिपय शारीरिक रूपमा अशक्त थिए । कसैका सन्तानको नागरिकता बनाउनसमेत अभिभावकले समस्या भोगिरहेका थिए ।
जिल्ला प्रशासन कार्यालयकी नागरिकता फाँटकी प्रशासकीय अधिकृत अन्तिम सिजाली मगरका लागि पनि यो यात्रा विशेष रह्यो । उहाँ राप्तीमै हुर्कनुभएको हो तर चितवनमै यति विकट भूगोल रहेछ भन्ने कुरा यसपटक स्थलगत रूपमा पुगेपछि थप अनुभूति भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “राप्तीको माथिल्लो भेग नेपालको कर्णाली भन्थे हो कर्णालीजस्तै विकट रहेछ । यहाँ आएर मात्र यसको वास्तविकता नजिकबाट बुझ्न पाएँ । ”
यहाँका प्रजा समुदायको जीवनस्तर हेर्दा सामान्य सरकारी सेवा लिन पनि निकै कठिन रहेको उहाँको अनुभव छ । “यहाँको पीडा आफ्नै आँखाले देख्न पाएँ । नागरिकता बनाउनसमेत मानिसले यति धेरै दुःख गर्नुपर्दो रहेछ । यहाँका नागरिकको नागरिकतामा आफ्नै हातले हस्ताक्षर गरेर नागरिकता बाँड्न पाउँदा निकै गौरवान्वित भएको छु”, उहाँले भन्नुभयो ।
अपाङ्ग छोरालाई बोकेर नागरिकता बनाउन
नागरिकता बनाउने उमेर पुगे पनि अपाङ्ग छोराको नागरिकता बनाउन नसक्दाको पीडा भोगिरहेका भीमबहादुर प्रजाका लागि गाउँमै पुगेको टोली अर्को अवसर बन्यो । उहाँ आफैँ असक्त हुनुहुन्छ । त्यसमाथि अपाङ्ग छोरालाई बोकेर सदरमुकामसम्म पुग्नु सहज थिएन । त्यसैले छोरा बोकेर उहाँ वडा कार्यालय पुग्नुभयो । आफ्नो शरीरमा रहेको असक्तताभन्दा ठूलो चिन्ता छोराको नागरिकता बनाउने थियो । छोरा बोकेर वडा कार्यालयसम्म पुग्दा उहाँले भोगेको कठिनाइ देखिन्थ्यो ।
वडा कार्यालयमै नागरिकता र मतदाता परिचयपत्रका लागि फोटो खिचाउन सक्ने भएपछि उहाँको अनुहारमा राहत देखियो । उहाँले भन्नुभयो, “सदरमुकाम जाने अवस्था छैन । अपाङ्ग छोरा बोकेर हिँड्न सक्ने अवस्था पनि छैन । गाउँमै नागरिकता पाउँदा पीडा हलुका भएको ।”  नजिकै रहेका प्रजिअ अर्याललाई धन्यवाद दिँदै गर्दा उहाँले लामो समयदेखि बोकेको चिन्ता केही कम भएको अनुभूति गरिरहनुभएको थियो ।
तीन घण्टा पैदल हिँडेर वडामा
आफ्नी बुहारी सविता र छोरा रावणको नागरिकता बनाउन सिताबहादुर प्रजा कान्दाबाट वडा कार्यालयसम्म करिब तीन घण्टा पैदल हिँडेर आउनुभयो । नागरिकता चाहिन्छ भन्ने कुरा उहाँलाई थाहा थियो तर नागरिकता बनाउन कहाँ जाने, कसलाई भेट्ने, फोटो कहाँ खिच्ने र कागजातको प्रक्रिया कसरी पूरा गर्ने भन्ने जानकारी भए पनि उहाँलाई यो काम निकै चुनौतीपूर्ण थियो । घरबाट भरतपुरसम्म पुग्न समय लाग्ने मात्र होइन, आर्थिक भार पनि पर्ने भएकाले गाउँमै नागरिकता बनाउन पाउँदा उहाँ खुसी हुनुभयो ।  “नागरिकता बनाउन भरतपुरसम्म जानुपरेको भए धेरै खर्च हुन्थ्यो । यहाँ नै बनाउन पाउँदा सजिलो भयो”, उहाँले भनन्ुभयो ।
नागरिकता वितरणसँगै जिल्ला निर्वाचन कार्यालयको टोली पनि पुगेको थियो । त्यसैले उहाँले छोरा र बुहारीको मतदाता परिचयपत्रका लागि आवश्यक फोटो खिचाउने अवसरसमेत पाउनुभयो । नागरिकता पाएपछि मतदाता परिचयपत्रका लागि फोटो खिचाउन पाउँदा उहाँको खुसी थपियो । “नागरिकता त पायौँ, झन् मतदाता परिचयपत्रको नम्बरसमेत पाएपछि सुखै सुख भयो”, उहाँले भन्नुभयो । त्यस्तै राप्ती–१२ का बाबुलाल प्रजाले २७ वर्षको उमेरमा नागरिकता प्राप्त गर्नुभयो ।
राप्ती–१३ को तुलनामा वडा नं १२ केही सहज मानिए पनि सरकारी कार्यालयमा पुगेर नागरिकता बनाउने प्रक्रिया उहाँका लागि सहज थिएन । “प्रशासनमा गएर के भन्ने, कसलाई भेट्ने, कहाँ फोटो खिच्ने भन्ने पनि थाहा थिएन । यहाँ सबै सरहरूले सहयोग गर्नुभयो । त्यसैले नागरिकता बनाउन निकै सजिलो भयो”, उहाँले भन्नुभयो । नागरिकता पाएपछि सरकारी काम गर्न सजिलो हुने र मतदाता परिचयपत्र पाएपछि मतदान गर्न पाउनेमा उहाँ खुसी हुनुहुन्थ्यो । राप्ती–१२ बाट पनि २८ जनाले सोही दिन नागरिकता प्राप्त गरेका छन् ।
बाटोमै नागरिकता
राप्ती–१३ मा नागरिकता वितरण गरेर टोली फर्किंदै थियो ।  दिन ढलिसकेको थियो । त्यही क्रममा दुई महिला हस्याङफस्याङ गर्दै नागरिकता बनाउन आइरहेका थिए । प्रजिअ अर्यालले सोध्नुभयो । उनीहरूले घरको काम सकेर आउँदा ढिलो भएको बताए । टोली वडा कार्यालयबाट हिँडिसकेको थाहा पाएपछि उनीहरू हतारिँदै आएका थिए । उनीहरू साना बच्चा बोकेर आएका थिए । वडा कार्यालयसम्म पुग्न उनीहरूलाई करिब दुई घण्टा लाग्ने रहेछ । टोली फर्किसकेको भए पनि उनीहरूलाई त्यसै फर्काउने अवस्था थिएन । त्यसैले प्रजिअ अर्यालले बाटोमै नागरिकता बनाउने व्यवस्था मिलाउनुभयो ।
झोलुङ्गे पुलको मुखमा बसेर ल्यापटपबाट विवरण तयार गरियो । आवश्यक प्रक्रिया पूरा गरियो । हस्ताक्षर गराइयो । र, त्यहीँ उनीहरूको हातमा नागरिकता पुग्यो । प्रजिअ अर्यालका लागि त्यो क्षण सामान्य प्रशासनिक कामभन्दा फरक थियो । कालीटारमा ८४ जनालाई नागरिकता दिएर फर्किने क्रममा झोलुङ्गे पुलमा ती महिला भेटिएको उहाँले बताउनुभयो ।
नागरिकतासँगै मतदाता परिचयपत्र
नागरिकता वितरण गर्न प्रशासनको टोलीसँगै जिल्ला निर्वाचन कार्यालय चितवनको टोली पनि राप्ती पुगेको थियो । जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीका अनुसार वडा नं १३ मा नागरिकता प्राप्त गर्ने सबै मतदाताको मतदाता परिचयपत्र बनाउने काम पनि गरिएको थियो । उहाँले भन्नुभयो, “जिल्ला प्रशासन कार्यालयको टोली राप्तीको विकट क्षेत्रमा नागरिकता वितरण गर्न जाने जानकारी पाएपछि हामी पनि सँगै गएका थियौँ । वडा नं १३ मा नागरिकता वितरण भएका सबै मतदाताको मतदाता परिचयपत्र बनाउने काम गरियो ।” यस क्रममा जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा आउन नसकेका चार जनाको पहिले नै नागरिकता बनेको भए पनि मतदाता परिचयपत्र बन्न बाँकी रहेकाले उनीहरूको पनि आवश्यक प्रक्रिया पूरा गरिएको उहाँले बताउनुभयो ।
राप्ती–१२ मा भने समय ढिलो भएको, विद्युत् नभएको तथा प्रिन्टरलगायत उपकरण व्यवस्थापनमा समस्या आएका कारण केही प्राविधिक कठिनाइ भएको उहाँले जानकारी दिनुभयो । सानो बच्चा भएकी एक महिलालाई जिल्ला प्रशासन कार्यालयसम्म आउन सम्भव नभएकाले मोबाइल प्रविधिको प्रयोग गरी वडा नम्बर १२ मै मतदाता परिचयपत्र बनाइएको उहाँले बताउनुभयो । यसरी नागरिकता र मतदाता परिचयपत्रको सेवा एकै ठाउँबाट पाउँदा स्थानीयलाई सदरमुकामसम्म दोहो¥याएर धाउनुपर्ने अवस्था घटेको थियो ।
पहिले ओडारमा बस्थे, अहिले जस्ताको घरमा
बीस वर्षदेखि चेपाङ समुदायको उत्थानमा काम गर्दै आउनुभएका समाजसेवी एवं पत्रकार केपी किरण शर्माले विगतको तुलनामा राप्तीको माथिल्लो क्षेत्रमा धेरै परिवर्तन आएको बताउनुभयो । उहाँका अनुसार पहिले भण्डाराबाट लोथर खोलैखोला हिँडेर माथिल्लो क्षेत्रसम्म पुग्नुपथ्र्यो । अहिले बुलेरो गाडीमा पुग्न सकिने अवस्था बनेपछि यहाँका मानिसको मुहारमा खुसी ल्याएको छ तर सडक पुगे पनि त्यसको नियमित र भरपर्दो सञ्चालनका लागि थप सुधार आवश्यक रहेको उहाँको भनाइ छ । यहाँ उत्पादन भएका तरकारीलगायत कृषि उपज बजारसम्म पु¥याउन अझै कठिनाइ रहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “यहाँका उत्पादन बजारसम्म लैजान आज पनि समस्या छ । सडक राम्रो बन्नसके चेपाङ समुदायको आर्थिक विकासमा सहयोग पुग्छ ।”  चेपाङ समुदायसँग लामो समयदेखि काम गरेको स्मरण गर्दै शर्माले विगतमा ओडारमा बस्ने र गिठा–भ्याकुर खाने अवस्थाबाट अहिले जस्ताको घरमा बस्ने र कठिनाइका बीच भए पनि भात खान सक्ने अवस्थासम्म आइपुगेको बताउनुभयो ।
राप्ती–१३ का वडाध्यक्ष अशोककुमार प्रजाका अनुसार वडाले नागरिकता बनाउन बाँकी नागरिकको विवरण गाउँगाउँबाट सङ्कलन गरेको थियो । नागरिकको पारिवारिक विवरण, आवश्यक प्रमाण र कागजात सङ्कलन गरी जिल्ला प्रशासन कार्यालयमा पठाएपछि नागरिकता वितरणका लागि टोली गाउँमै आउने वातावरण बनेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँगाउँबाट नागरिकको विवरण सङ्कलन गरेर आवश्यक प्रमाण जुटायौँ । जिल्ला प्रशासन कार्यालयमा पठाएपछि नागरिकता बनाउन टोली गाउँमै आयो ।” वडामा ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक नागरिकताविहीन नागरिक पनि उल्लेख्य रहेको उहाँले बताउनुभयो ।
आफू वडाध्यक्ष भएर निर्वाचित हुनुको उद्देश्य नै स्थानीय नागरिकको सेवा गर्नु भएकाले नागरिकता वितरणमा सहजीकरण गर्नु आफ्नो कर्तव्य भएको उहाँको भनाइ छ । “नागरिकता नभएकै कारण सरकारी सेवा–सुविधाबाट वञ्चित हुनुपर्ने अवस्था छ । नागरिकता पाएपछि उहाँहरूलाई धेरै सेवा लिन सहज हुन्छ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस !