चितवनः यहाँको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले एक वर्षमा बहिरंग (ओपिडी) मा दुई लाख १२ हजार ९७७ जनालाई सेवा दिएको छ । ती बिरामी मध्ये २७ हजार २४३ नयाँ बिरामी हुन् भने बाँकी पुनः परीक्षणका लागि आएका बिरामी हुन् ।
अस्पतालले आफ्नो वार्षिकोत्सव एवं राष्ट्रिय क्यान्सर सतर्कता दिवसका अवसरमा हरेक वर्ष असोज १० गते यो तथ्यांक सार्वजनिक गर्ने गर्दछ । अस्पतालको वार्षिक प्रतिवेदन समाचार बुलेटिन प्रकाशन उपसमितिका संयोजक डा. सुशील अधिकारीका अनुसार सन् २०२५ मा आएका बिरामी मध्ये ६ हजार ८५८ जना क्यान्सरका नयाँ बिरामी पत्ता लागेका छन् ।
सन् २०२४ मा दुई लाख ४ हजार ९७१ जना बिरामीले बहिरंग सेवा लिएका थिए । उनीहरु मध्ये ३१ हजार ५६० नयाँ रहेका थिए । सो वर्ष सात हजार नौ जना नयाँ क्यान्सरका बिरामी पत्ता लागेको डा. अधिकारीको भनाई छ ।
सन् २०२५ मा अस्पतालको आकस्मिक विभागबाट २६ हजार १२६ जनाले सेवा लिएको जानकारी दिंदै डा. अधिकारीले ११ हजार ५५९ जना बिरामीले अन्तरंग (भर्ना भएर) सेवा लिएको बताउनुभयो । अस्पतालमा सोही अवधिमा ठूला तीन हजार ९१ शल्यक्रिया गरिएको छ ।
सन. २०२४ मा आकस्मिक कक्षबाट ३० हजार ८०१ जनाले सेवा लिएका थिए भने १२ हजार ४७ जना भर्ना भएर सेवा लिएको उहाँले जानकारी दिनुभयो । सो वर्ष तीन हजार १६९ ठूला शल्यक्रिया (मेजर अप्रेसन) गरिएको, २७ हजार ४९३ जनाले डे केयर सेवा लिएको अस्पतालको तथ्यांक रहेका छन् ।
सन् २०२५ मा अस्पतालमा विकिरण प्रविधि (सेकाई) बाट उपचार गराउनेको संख्या दुई हजार ९७० छ भने डे केअरमा भर्ना भएर केमो थेरापी लिनेको संख्या २६ हजार ४७२ रहेको उहाँको भनाई छ ।
एक वर्षको अवधिमा ११ हजार बढी विपन्न बिरामीको निःशुल्क उपचार पाएका छन् । अस्पतालले सन् २०२५ मा १० हजार ९२० जना विपन्नको निःशुल्क उपचार गरेको छ । अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उमेश नेपालका अनुसार विपन्नको उपचार वापत रु.४३ करोड १२ लाख १४ हजार १६१.१६ बिरामीले छुट पाएका छन् । यसैगरी क्यान्सर सेवा समाज मार्फत् १७६ जनाले छुट पाएका छन् । सो वापत बिरामीले रु. १५ लाख ७३ हजार १४५ छुट पाएका हुन् ।
सन् २०२४ मा ९ हजार ११२ जनाले विपन्न सेवा पाएका थिए । त्यस वापत उनीहरुले रु.३५ करोड ५८ लाख २२ हजार २०६.९५ छुट पाएका थिए । सो वर्ष क्यान्सर सेवा समाज मार्फत् २१५ जनाले रु.१३ लाख ९० हजार ३६४ छुट पाएको उहाँले जानकारी दिनुभयो ।
पाँच सय शैयाको अस्पतालमा आईसियू, एचडियु र क्याविन बाहेकका सम्पूर्ण जनरल बेडहरु निःशुल्क दिंदै आएको डा. नेपालले बताउनुभयो । अस्पतालमा भर्ना भएर उपचार गर्ने बिरामीलाई दुई छाक खाना र एक छाक नास्ता अस्पतालले निःशुल्क उपलब्ध गराउँदै आएको डा. नेपालको भनाई छ ।
अस्पतालमा ७१८ कर्मचारी रहेका छन् । ती मध्ये एक सय जना चिकित्सक हुन् भने २९५ जना नर्स रहेका छन् ।
नेपाल सरकारबाट स्वायत्त संस्थाको रुपमा बि.सं. २०५३ मा ऐन मार्फत उपचार, अनुसन्धान, निवारण रोकथामको उद्देश्यले अस्पताल स्थापना भएको हो । चीन सरकारले निर्माण गरेको यस अस्पताल शुरुमा एक सय शैया रहेकोमा अहिले पाँच सय शैयाको भएको छ । यहाँ नेपालभर र भारतबाट समेत बिरामी उपचारका लागि आउने गर्दछन् ।






