चितवन: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै चितवन क्षेत्र नम्बर ३ को क्षेत्रीय सभापतिका लागि विष्णुबहादुर भुजेलले आफ्नो आकांक्षा प्रस्तुत गरेका छन्। लामो समयदेखि पार्टीको संगठन निर्माण र सामाजिक क्षेत्रमा सक्रिय भुजेलले युवाको सहभागिता र नेतृत्व विकासलाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन्।

वि.सं. २०६३ सालमा सप्तगण्डकी क्याम्पसबाट नेपाल विद्यार्थी संघ (नेविसंघ)को राजनीतिमा प्रवेश गरेका भुजेलले नेविसंघ साविक क्षेत्र नम्बर ४ को सदस्य हुँदै सभापतिको जिम्मेवारी सम्हालेका थिए। त्यसपछि नेविसंघ चितवनको जिल्ला उपसभापतिको जिम्मेवारीसमेत निर्वाह गरिसकेका उनी १४औँ महाधिवेशनमा जिल्ला सदस्य निर्वाचित भएका थिए।

पार्टी संगठनसँगै सामाजिक क्षेत्रमा समेत सक्रिय भुजेल गीतानगर ब्वाइज क्लबका पूर्वअध्यक्ष तथा सिद्धेश्वर आधारभूत विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष हुन्। उनले सामाजिक तथा शैक्षिक क्षेत्रमा समेत काम गर्दै आएको बताउँदै आएका छन्।

१५औँ महाधिवेशनमा क्षेत्रीय सभापतिको आकांक्षी बनेका भुजेलले नेपाली कांग्रेसमा युवाको आकर्षण बढाउने, स्थानीय तहको निर्वाचनमा ३० प्रतिशत युवालाई सहभागी गराउने तथा युवालाई नेतृत्व विकासका अवसर उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राखेका छन्।

त्यस्तै, पार्टीभित्र हुने गुटबन्दी र आर्थिक चलखेल अन्त्य गर्दै संगठनलाई पारदर्शी र विधिसम्मत बनाउने, नातावाद तथा परिवारवादको अन्त्य गर्ने लगायतका मुद्दा आफूले अघि सारेको भुजेलको भनाइ छ।

युवा पुस्तालाई पार्टीको नेतृत्व र निर्णय प्रक्रियामा अर्थपूर्ण रूपमा सहभागी गराउँदै संगठनलाई थप गतिशील बनाउने उद्देश्यसहित आफू क्षेत्रीय सभापतिको दौडमा आएको भुजेलले बताएका छन्।

प्रतिक्रिया दिनुहोस !