चितवनः नेपाली कांग्रेसको राजनीतिमा लामो समयदेखि सक्रिय परिवारका बुद्धिकान्त न्यौपानेले भरतपुर महानगर सभापति पदमा उम्मेदवारीको तयारी गर्नुभएको छ । कांग्रेसप्रति परिवारकै लामो राजनीतिक योगदान र आफ्नो संगठनात्मक सक्रियतालाई आधार बनाउँदै न्यौपानेले महानगरको नेतृत्वमा दाबी प्रस्तुत गर्नुभएको हो ।
न्यौपानेका अनुसार उहाँको परिवारले पञ्चायतकालदेखि नै प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। उहाँका पिता चन्द्रकान्त न्यौपाने विभिन्न राजनीतिक आन्दोलनमा अग्रपंक्तिमा रहेर सहभागी हुनुभएको थियो । परिवारले राजनीतिक गतिविधिका क्रममा जेल, यातना र राज्य पक्षबाट सर्बस्व हरण समेत व्यहोर्नु परेको उहाँको भनाइ छ ।
बि. सं. २०३७ सालमा बीपी कोइराला चितवनको क्याम्पाचौरमा आयोजित कार्यक्रममा सहभागी हुँदा उहाँकी हजुरआमा हरिमाया न्यौपाने पनि सभा सुन्न पुग्नुभएको थियो । उक्त कार्यक्रममा भएको भागदौडमा उहाँ घाइते हुनुभएको र पछि निधन भएको थियो ।
त्यस्तै, उहाँका दाजु २०४६ सालको जनआन्दोलनका क्रममा कुटपिटमा परी अहिले पनि अपाङ्ग अवस्थामा हुनुहुन्छ । यही राजनीतिक पृष्ठ भूमिबाट आफू कांग्रेसको विचार, संगठन र आन्दोलनप्रति आकर्षित भएको उहाँको भनाइ छ ।
न्यौपाने नेपाली कांग्रेसको १३औँ महाधिवेशनमा नगर सदस्य तथा १४औँ महाधिवेशनमा भरतपुर महानगर उपसभापतिको जिम्मेवारीमा रहेर काम गरिसक्नुभएको छ । स्थानीय तहका विभिन्न निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन संगठनात्मक रूपमा सक्रिय रहनुभएका न्यौपाने अहिले नगरसभापतिको दौडमा हुनुहुन्छ । हालै नेपाली कांग्रेसको १५ औं महाधिबेशन अन्तर्गत भरतपुर महानगरपालिका–६ को वडा अधिवेशनबाट न्यौपाने सर्वसम्मत क्षेत्रीय प्रतिनिधि चयन हुनुभएको र त्यसपछि महानगर सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।
लामो राजनीतिक संघर्षको पारिवारिक पृष्ठभूमि, पार्टी संगठनमा निर्वाह गरेको जिम्मेवारी र स्थानीय तहमा गरेको सक्रियतालाई आधार बनाउँदै न्यौपानेले भरतपुर महानगर कांग्रेसको नेतृत्वका लागि आफ्नो दाबी पेश गर्नुभएको हो ।






