चितवनः पृथ्वी राजमार्गको कृष्णभिरमा पहिरोले १८ दिन सडक अवरुद्ध बनाएपछि राजधानी भित्रिने यातायातका साधन सहज चल्न सकेका थिएनन् । ठूला सवारी रोकिएका थिए भने साना सवारी वैकल्पिक मार्ग प्रयोग गरेर काठमाण्डौं आवतजावत गरेका थिए ।
मालवाहक ठूला सवारी राजधानी प्रवेश गर्न सकेका थिएनन् । एलपी ग्याँसका बुलेटहरु तराईका उद्योगमा बोटलिङ गरेर लैजानु पर्ने बाध्यता थियो । ठूला मालवाहक ट्रकहरु हेटौंडा तर्फबाट आवतजावत गरे पनि चालकहरुलाई निकै कठिनाई भएको थियो । कतिपय ठूला सवारी रोकिएका थिए । पर्यटकीय बसहरु चल्न सकेका थिएनन् ।
सरकारले द्रुत गतिमा गरेका कामका कारण छोटो समयमा नै कृष्णभिरको बाटो बनेपछि यातायात व्यवसायी उत्साहित भएका छन् । राजधानीतर्फ जाँदै गरेका माईक्रो बसका धनी समेत रहनु भएका चालक राजु थापा आफ्ना दुई माईक्रोलाई कृष्णभिरको दुईतर्फ राखेर सेवा दिएको बताउनुहुन्छ । उहाँले भन्नुभयो “कृष्णभिरमा पहिरो गएपछि मैले दुई वटा माईक्रो दुई तर्फ राखेर यात्रुलाई सेवा दिएँ ।” उहाँले नारायणगढबाट यात्रु लिएर कृष्णभिरसम्म र भिरमा यात्रुलाई हिँडाएर पारी आफ्नै अर्काे माईक्रोमा राखेर काठमाण्डौंसम्म यात्रु पु¥याउने गरेको बताउनुभयो ।
सहज जाँदा धेरै पटक आवतजावत गर्न सकिने भएपनि यसरी काम गर्दा यात्रुलाई सेवा दिने काम मात्रै भएको उहाँको भनाई छ ।
काठमाण्डौंबाट आजै नारायणगढ आईपुग्नु भएका ट्रकका चालक शिवकुमार थारुले कृष्णभिर बन्द हुँदा निकै दुःख पाएको गुनासो गर्नुभयो । आफू काठमाण्डौं जाँदा हेटौंडा हुँदै गएको भन्दै उहाँले बाटो बनेको थाहा पाएर कृष्णभिर हुँदै आज फर्किएको बताउनुभयो । हेटौंडातर्फबाट जाँदा साघुरो बाटो र धेरै ठाउँमा बिग्रिएका कारण दुःख हुने गरेको उहाँको भनाई छ । उहाँले भन्नुभयो “हामीलाई पृथ्वी राजमार्ग नै सजिलो हुन्छ ।”
अर्का ट्रक चालक खुशीयाल पठान आजै कृष्णभिर हुँदै नारायणगढ आउनु भएको छ । भैरहवा जान आउनु भएका पठानले सडक बनेपछि निकै सहज भएको बताउनुभयो । हेटौंडा हुँदै जाँदा बाटो लामो हुने र दुःख पाईने भन्दै उहाँले पृथ्वी राजमार्ग हुँदै आउँदा धेरै सहज भएको बताउनुभयो । सरकारले छोटो समयमा वैकल्पिक मार्ग बनाएकोमा उहाँले धन्यवाद दिनुभयो ।
भैरहवाबाट काठमाण्डौं जान आउनु भएका बसका चालक आशिष क्षेत्री अब आफूहरुलाई सहज भएको बताउनुहुन्छ । यस अघि काठमाण्डौं जाँदा हेटौंडा हुँदै गएको भन्दै जाम परेका कारण दुई दिन समय लागेको बताउनुभयो । हेटौंडा हुँदै जाँदा ८१ किलोमिटर लामो पर्ने उहाँको भनाई छ । उहाँले भन्नुभयो “सडक साँघुरो, ठाउँठाउँमा भत्किएको र लामो हुने हुँदा दुःख भयो ।” काम गरे सकिन्छ भन्ने प्रमाण कृष्णभिरले दिएको भन्दै उहाँले सरकारले गरेको कामको प्रशंसा गर्नुभयो ।
पर्साको ठोरीबाट काठमाण्डौं आवतजावत गर्ने बसका चालक रुपेश परियार कृष्णभिरको पहिरोपछि आफूले बस काठमाण्डौं नलगेको बताउनुहुन्छ । वैकल्पिक बाटो जाँदा लामो र अप्ठ्यारो हुने हुँदा थन्किएकोमा अब सडक बनेसँग पृथ्वी राजमार्ग हुँदै जाने बताउनुभयो । उहाँले भन्नुभयो “हेटौंडा हुँदै जाँदा खर्च नधान्ने भएपछि हामीले गाडी रोक्नु पर्ने अवस्था आयो ।”
कृष्णभिरमा सडक बनेपछि बुधबार साँझ सडकमा रोकिएका सवारी आवतजावत गराईएको थियो । चितवन तर्फबाट मात्रै एक हजार नौ सय हाराहारी रोकिएका सवारी काठमाण्डौं पठाईएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले बताउनुभयो । आज बिहानदेखि सहज रुपमा सवारी साधन कृष्णभिर हुँदै आवतजावत गरेको उहाँले जानकारी दिनुभयो ।
भदौ १४ गते बिहान कृष्णभिरको सडक फेदमा त्रिशुली नदीले कटान गरेपछि सडक पूर्ण रुपमा भाँसिएको थियो । झण्डै एक सय मिटर सडक भाँसिएपछि नजिकैबाट भित्तो काटेर वैकल्पिक मार्ग बनाईएको हो । नियमित रुपमा तिब्र गतिमा काम गरिएकै कारण १८ औं दिनमा पूर्ववत अवस्थामा आज बिहानबाट सडक सञ्चालनमा आएको हो । यसबीचमा रोकिएका र वैकल्पिक मार्ग भएर जाँदा दुःख पाएका सवारी चालकहरुले सडक बनेसँगै खुशी व्यक्त गरेका छन् । उनीहरुले सरकारको कामको प्रशंसा गर्दै कृष्णभिरको सडक निर्माणलाई नमूना कामको संज्ञा दिएका छन् ।






