नुवाकोटः २०८३ साल भदौ १० गते रसुवाबाट आएको भीषण बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि फेन्सी व्यवसायी महासंघ नेपाल र फेन्सी व्यवसायी संघ चितवनको सहकार्यमा नुवाकोटको विदुर नगरपालिका–९ मा ५० लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको राहत सामग्री वितरण गरिएको छ।
बाढी तथा विपद्बाट प्रभावित परिवारहरूको तत्कालीन आवश्यकता सम्बोधन गर्ने उद्देश्यले गरिएको राहत वितरणमा फेन्सी सामान, लत्ताकपडा, जुत्ता–चप्पल, खाद्यान्न, सेनेटरी प्याड, ग्यास चुलो लगायतका विभिन्न आवश्यक सामग्रीहरू उपलब्ध गराइएको थियो।
राहत वितरण कार्यक्रममा फेन्सी व्यवसायी महासंघ नेपालका अध्यक्ष तथा फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष रामप्रसाद पौडेलज्यूको उपस्थितिमा फेन्सी व्यवसायी संघ चितवनका प्रवक्ता सन्तोष पोखरेल तथा सदस्य विदुर रेग्मीको सहभागिता रहेको थियो।
विदुर नगरपालिका–९ का वडा अध्यक्ष श्री कमल श्रेष्ठज्यूको रोहवरमा राहत सामग्री पीडित समितिका संयोजक सिंगराज लामासहित प्रभावित परिवारहरूलाई हस्तान्तरण गरिएको थियो। कार्यक्रममा म्यागङ गाउँपालिकाकी उपाध्यक्ष सीता तामाङज्यू तथा विदुर नगरपालिका–९ का खेलकुद विकास समितिका अध्यक्ष विजय तामाङज्यू लगायतको समेत सहभागिता रहेको थियो।

कार्यक्रममा अध्यक्ष रामप्रसाद पौडेलज्यूले राहत सामग्री तथा सहयोगको उद्देश्यबारे जानकारी गराउँदै विपद्को समयमा प्रभावित परिवारहरूसँग प्रत्यक्ष उपस्थित भएर सहयोग गर्न पाउँदा आफूलाई अत्यन्त गौरव महसुस भएको बताउनुभयो। उहाँले यस राहत अभियानमा सहयोग गर्ने फेन्सी व्यवसायी संघ तथा महासंघसँग आबद्ध सम्पूर्ण सदस्य, व्यवसायी तथा सहयोगी महानुभावहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो।
त्यसैगरी, विदुर नगरपालिका–९ का वडा अध्यक्ष श्री कमल श्रेष्ठज्यूले विपद्को समयमा प्रभावित परिवारहरूको पीडामा साथ दिँदै प्रत्यक्ष रूपमा राहत सामग्री लिएर आएकोमा फेन्सी व्यवसायी महासंघ नेपाल तथा फेन्सी व्यवसायी संघ चितवनप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो। उहाँले निजी क्षेत्र तथा व्यवसायी समुदायबाट गरिएको यस्तो मानवीय सहयोगले प्रभावित परिवारलाई ठूलो राहत पुग्ने बताउनुभयो।
विपद्को समयमा व्यवसायी समुदायको सामाजिक उत्तरदायित्वलाई व्यवहारमै प्रस्तुत गर्दै गरिएको यस राहत वितरणले पीडित परिवारहरूलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराउनुका साथै ‘व्यवसायसँगै सामाजिक सेवा’ भन्ने भावनालाई समेत थप मजबुत बनाएको छ।
फेन्सी व्यवसायी महासंघ नेपाल र फेन्सी व्यवसायी संघ चितवनले आगामी दिनमा पनि विपद् तथा कठिन परिस्थितिमा प्रभावित समुदायसँग हातेमालो गर्दै मानवीय सहयोगका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।






