चितवनः पूर्बी चितवनको रत्ननगरमा पालिएका पशु चौपायमा रेविजको संक्रमण देखिएको छ । रत्ननगर नगरपालिकाका बिभिन्न वडामा पालिएका पशुमा रेविजको लक्ष्यण देखिएको हो । वडा नम्बर ९ र १० को नमुनामा रोगको संक्रमण पुष्टि भएको छ ।
पशु सेवा कार्यालय चितवनका प्रमुख डा. प्रभात न्यौपानेका अनुसार जर्सी गाईमा रोग संक्रमण पुष्टि भएको हो । उहाँका अनुसार यो रोग लागेका गाई भैसीले ¥याल काड्ने, टाउको भित्तामा ठोक्ने, मान्छे या अन्य जनावारलाई टोक्न खोज्ने, पानी खान नखोज्ने, घाँस खान नखोज्ने, दुध घटाउने र मर्ने हुन्छ । कुकुर बिरालामा रेविज बिरुद्धको भ्याक्सिन लगाईए पनि अन्य पशु चौपायमा खासै यसको भ्याक्सिन लगाईदैन ।
रोगको संक्रमण देखिए संगै संक्रमित क्षेत्रमा पालिएका पशु चौपायमा रोविज बिरुद्धको खोप लगाउन सुरु गरिएको छ । यो रोग लाइसा नामक भाइरसका कारण लाग्ने गर्दछ । जिल्लाका अन्य पालिकाहरुमा समेत यस रोगको संक्रमण देखिन सक्ने भन्दै उहाँले पशुपालक किसानलाई उच्च साबधानी अपनाउन आग्रह गर्नुभयो ।
रत्ननगर नगरपालिकाकी पशु चिकित्सक अनुस्का राजभण्डारीका अनुसार पालिकाका बिभिन्न वडामा पालिएका पशुमा यो रोगको संक्रमण देखिएको छ । यहाँका पशुहरुको नमुना संकलन गरि परिक्षणका लागि केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला काठमाडौ पठाईएको छ । रोगको संक्रमण देखिए पछि संक्रमित क्षेत्रमा उच्च सतर्कता अपनाईएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार यस आर्थिक वर्षमा सो पालिकामा चार वटा नमुना संकलन गरिएको छ । दुई वटा नमुनाको परिक्षणका लागि पठाउने तयारी गरिएको छ । दुई वटामा संक्रमणको पुष्टि भई सकेको छ । पशु मरेपछि नमुना परिक्षणका लागि पठाउने गरिन्छ ।
संक्रमणको लक्ष्याण देखिएका ९ देखि १० दिनको बिचमा पशु मर्ने गरेको उहाँले जानकारी दिनुभयो । यस पालिकाको वडा नम्बर ९, १० र १६ मा रेविजको संक्रमण देखिएको हो । यस क्षेत्रमा न्याउरी मुसा र स्यालको टोकाईले रेविज सरेको उहाँको अनुमान छ । रेविजको संक्रमण देखिएका क्षेत्रमा रहेका पशु तथा मानिसहरुमा रेविज बिरुद्धको भ्याक्सिन दिन थालिएको उहाँले जानकारी दिनुभयो ।
कुकुर र जंगली जनावरको टोकाईबाट सर्ने यस रोग जंगलको आसपासमा रहेका कृषकहरुलाई सतर्कता अपनाउन र लक्ष्यण देखिए तत्काल खवर गर्न अनुरोध गरिएको उहाँले वताउनुभयो । जनावरले टोकेको वा चिथोरेको ठाउँमा तुरुन्तै १५ मिनेटसम्म साबुन र बगिरहेको सफा पानीले राम्ररी धुने, चिकित्सकको सल्लाह अनुसार तुरुन्तै र तोकिएको तालिका अनुसार रेविज विरुद्धको खोप लगाउने, घरपालुवा कुकुर र बिरालाहरूलाई नियमित रूपमा प्रत्येक वर्ष रेविजविरुद्धको खोप लगाउने, शंकास्पद वा अनौठो व्यवहार देखाएका पशुहरूलाई अन्य जनावर र मानिसबाट टाढा सुरक्षित ठाउँमा थुनेर राख्ने गर्नुपर्ने उहाँले सुझाब दिनुभयो ।






