चितवनः यहाँको सरकारी अस्पताल भरतपुर अस्पताललाई हरियाली संगै सेवाग्राही मैत्री बनाउने गरी काम अघि वढाईएको छ । बिरामीको उच्च चापको व्यवस्थापन गर्दै अस्पताल प्रशासनले चिकित्सक, कर्मचारीलाई सेवाग्राही संग गरिने व्यवहार राम्रो वनाउन अभिमुखिकरण कार्यक्रम समेत गर्न सुरु गरेको छ ।

बिरामीको सेवामा रहने चिकित्सक, स्वास्थ्य कर्मी र कर्मचारीलाई सेवाग्राही संग मिठो बोल्न र राम्रो व्यवहार गर्न भनिएको छ । अस्पतालका प्रमुख मेडीकल सुपरिटेण्डेन्ट डा. बिश्वबन्धु बगालेका अनुसार सबै बिभागहरुमा व्यवहारलाई राम्रो गराउन अभिमुखिकरण गर्न थालिएको छ । तीन वटा त्यस्ता कार्यक्रम गरि सकिएको छ । उहाँले भन्नुभयो “यहाँ आउने सेवा ग्राहीलाई हामी सबैले राम्रो व्यवहार गरेर उपचार दिनु पर्छ भन्ने भावनाको बिकास गरिरहेका छौ ।” कतिपय समयमा काम गर्ने क्रममा हुने व्यवहारका कारण समस्या आउने गरेको छ । यसैका कारण अस्पतालमा आउने सेवाग्राही र अस्पतालका चिकित्सक कर्मचारी बिचमा द्धन्द्ध समेत हुने गरेको छ ।

अस्पतालमा उपचारका लागि आउने बिरामी तथा आफन्तले भोग्ने व्यवहार र अस्पतालको वातावरणले उपचार सेवाप्रतिको विश्वासमा समेत प्रभाव पार्ने भएकाले कर्मचारीको व्यवहार सुधारलाई प्राथमिकतामा राखिएको बगाले बताउनुहुन्छ । चिकित्सक, नर्स तथा अन्य कर्मचारीलाई सेवाग्राहीसँग सम्मानजनक, सहयोगी र शिष्ट व्यवहार गर्न निर्देशन दिइएको छ। यसलाईनै प्राथमिकता दिदैं अभिमुखिकरण गरिएको हो ।

अस्पतालले स्वास्थ्य बिमा कार्यक्रममा इन्चार्ज लिलाधर पौडेलको संयोजकत्वमा हस्पिटल व्यूटीफिकेसन कमिटी समेत वनाएको छ । यसले अस्पताललाई हरियाली, सफा संगै सेवाग्राही मैत्री वनाउन काम गर्ने उहाँ बताउनुहुन्छ । बातावरणीय रुपमा सरसफाई संगै हरियाली वनाउन, सेवाग्राहीसंग राम्रो व्यवहार गर्न, सहज रुपमा सेवा प्रवाह गर्न, पूर्बाधारलाई सुन्दर वनाउने जस्ता काम कमिटीले गरिरहेको छ ।

डा. वगालेका अनुसार चिकित्सक स्वास्थ्यकर्मीलाई राम्रो व्यबहारका लागि अभिमुखिकरण, कम्तिमा १५ दिनमा एक पटक अभियानका रुपमा पूर्ण सरसफाई, शौचालयहरुमा सरसफाईको रेकर्ड बोर्डमा राख्ने जस्ता काम अस्पतालले थालेको छ । उहाँले उपचार मात्र नभएर यस संग–संगै रहेका धेरै कामहरु जसले सेवाग्राहीलाई प्रभाव पार्न सक्छ त्यस सम्बन्धि काममा ध्यान पु¥याईएको बताउनुभयो । समितिका संयोजक पौडेलका अनुसार अहिले १५ दिनको एक पटक बृहत रुपमा सरसफाई गरिदै आईएको छ । अस्पताल परिषरमा एउटा बाल उद्यान सहित ६ वटा साना पार्कहरु रहेका छन् । चिनिया दुबो लगाईएका ती पार्कहरुमा हरियाली हुने विरुवाहरु छन् । तीनिहरुको सरसफाई, गोडमेल, छाटकाँट जस्ता काम गरिदैं आइएको छ । यसका अतिरिक्त अस्पताल परिषरमा बिरुवाहरु लगाउने, छाटकाँट, गोडमेल, भौतिक पूर्बाधारहरुमा रंगरोगन जस्ता कामहरु भईरहेका छन् ।

यस संगै बिरामी र आफन्तहरु कुन भवनमा जाने हो त्यहाँ पुग्नका लागि सहज वनाउने काम भईरहेको छ । रंगहरु मार्फत सहजै जान चाहेको ठाउँमा पुग्ने गरी अस्पतालले व्यवस्थापन गर्दै छ । पौडेलका अनुसार अस्पतालका कर्मचारीहरुबाट सेवाग्राही संगको व्यवहारमा सुन्दरता ल्याउने गरी काम भईरहेको छ । बिरामी र आफन्तहरुलाई अस्पताल भित्रका सूचना सहज वनाउने काम पनि गरिएको छ । शौचालय सहित अन्य ठाउँहरुमा सरसफाईको नियमित अनुगमनको काम पनि थालिएको छ । पौडेलले भन्नुभयो “कम खर्चमा फरक पना दिलाउने गरी हामी काममा लागेका छौ ।” अस्पताल प्रशासनले अगाडी रहेको पुरानो भवन भत्काएर त्यहाँ पानीका फोहोरा, ढुङ्गेधार, बगैंचा वनाउने तयारी गरेको छ ।

पौडेलले भन्नुभयो “जो कोही अस्पताल आउँदा जतिनै तनाब लिएर आए पनि यहाँ छिरि सकेपछि बातावरणीय रुपमा शान्त वनाउने गरी काम गरिरहेका छौ ।” बिरामीको उपचारसँगै उनीहरूले पाउने सम्मान, स्वच्छ वातावरण र सहज सेवा पनि अस्पतालको गुणस्तरको महत्वपूर्ण पक्ष भएकाले भरतपुर अस्पतालले सुरु गरेको यो अभियानले सेवा संस्कृतिमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ। यस अस्पतालमा २५ जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन् । एकै दिनमा ३ हजार ८ सय जना सम्म बहिरंग सेवामा बिरामी आएको तथ्याङ्क छ ।

प्रतिक्रिया दिनुहोस !