चितवनः यहाँको चार तारे होटल सिराईचुलीको व्यवस्थापन अमेरिकी ब्राण्ड बेस्ट वेस्टर्नलाई दिईको छ । होटल सिराईचुली लिमिटेड र बेस्ट वेस्टर्नका प्रतिनिधिबीच बिहिबार यस सम्बन्धी सम्झौता भएको हो ।

सिराईचुलीका अध्यक्ष चुडामणि खनाल र बेस्ट वेस्टनको चीन, मंगोलिया र नेपाल हेर्ने अध्यक्ष ह्यारी डोङ्गले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । सो अवसरमा नेपालका लागि अमेरिकी राजदुतावासका एक्टिङ डिपुटी चिफ अफ मिसन विल्बर्ट उघ्नले अमेरिकी प्रख्यात ब्राण्डले यस होटलको व्यवस्थापन गर्नु सुखद पक्ष भएको बताउनुभयो । चितवन राष्ट्रिय निकुञ्जको समिपमा रहेको यस होटलको पर्यटकीय महत्व धेरै रहेको उहाँले बताउनुभयो ।

होटलका अध्यक्ष खनालले नयाँ ब्राण्डमा गएसँगै विश्वव्यापी बुकिङ प्रणाली, अन्तर्राष्ट्रिय रोयल्टी कार्यक्रम, एक सयभन्दा बढी देशसँग यस होटल जोडिएको बताउनुभयो । एक सय करोडको लगानीमा खुलेको यस होटलको ६० प्रतिशत शेयर सञ्चालकहरुको रहेको छ । १५ प्रतिशत सर्वसाधारणका लागि निश्काशन हुँदैछ भने २५ प्रतिशत बैंकको लगानी भएको खनालले बताउनुभयो ।
५० प्रतिशतभन्दा बढी अकुपेन्सी रहेको यस होटलमा ७१ कोठा सहित आधुनिक सुविधासम्पन्न विभिन्न साईजका हलहरु रहेका छन् । अबदेखि होटल बेस्ट वेस्टर्न सराईचुली होटलका नामबाट सञ्चालनमा आउने छ । यस अघि होटल सिराईचुलीका नामबाट सञ्चालनमा रहेको थियो ।

सोही अवसरमा बेस्ट वेस्टर्नका तर्फबाट ह्यारी डोङ्गले नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्यमा आफूहरु जोडिन पाउँदा खुशी व्यक्त गर्दै विश्वभर बजारीकरण गरेर व्यापार बृद्धिमा टेवा पु¥याउने बताउनुभयो ।

बेस्ट वेस्टर्नका चीन, मंगोलिया र नेपाल हेर्ने प्रबन्ध निर्देशक टिनाले हाल बेस्ट वेस्टर्नले गरेका पर्यटकीय होटलको व्यवस्थापनको बारेमा जानकारी गराउनु भएको थियो । होटल सिराईचुलीका प्रबन्ध निर्देशक बिष्णु कुँवरले यो सम्झौतासँगै चितवनको पर्यटनमा सकारात्मक प्रभाव पर्ने बताउनुभयो ।

सो अवसरमा बेस्ट वेस्टन नेपालका प्रतिनिधि आर्यन बास्तोलाले नेपालमा हाल काठमाण्डौंको पशुपति मन्दिर नजिकै र गोदावरीमा दुई वटा होटलको व्यवस्थापन यो ब्राण्डबाट हेरिंदै आएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !