चितवनः पूर्बी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप वढ्दो रहेको छ । गएका तीन आर्थिक वर्षमा बिरामीको संख्या निरन्तर वढ्दै आएको हो ।

गत आर्थिक वर्षमा यस अस्पतालको बहिरंग सेवामा मात्र ३ लाख १७ हजार २६६ जना बिरामीले सेवा लिएका छन् । अस्पतालको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१ ÷०८२ मा २ लाख ९६ हजार ५३८ जना, र आर्थिक वर्ष २०८०÷८१ मा २ लाख ४५ हजार ६९४ जनाले बहिरंग सेवाबाट उपचार लिएका थिए । यहाँ दैनिक १ हजार २ सय हाहारीले बहिरंग सेवाबाट उपचार लिने गरेको अस्पतालका जनस्वास्थ्य निरिक्षक पुष्पराज आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार यस अस्पतालले अहिले बहिरंग सेवाबाट २० प्रकारका उपचार सेवा दिदैं आएको छ ।

अस्पतालमा आउने बिरामी मध्ये ८५ प्रतिशत बिरामी स्वास्थ्य बिमाका रहेका छन् । उहाँका अनुसार गत आर्थिक वर्षमा २ लाख ९५ हजार ४९ जनाले स्वास्थ्य बिमाबाट सेवा लिएका छन् । अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि आउने बिरामीको चाप पनि वढ्दै गएको छ । आकस्मिक कक्षमा आर्थिक वर्ष २०८०÷०८१ मा १८ हजार १०७ जनाले सेवा लिएकोमा आर्थिक वर्ष २०८१÷०८२ मा २३ हजार ४६० र गत आर्थिक वर्षमा २७ हजार ६६ जनाले सेवा लिएको आचार्यले बताउनुभयो । उहाँका अनुसार आकस्मिक कक्षमा उपचारका लागि आएका बिरामी मध्ये आर्थिक वर्ष २०८०÷०८१ मा ३ हजार ९८० जना, आर्थिक वर्ष २०८१÷०८२ मा ४ हजार ५२० जना र गत आर्थिक वर्षमा ४ हजार ६८५ जनाले भर्ना भएर सेवा लिएको छन् ।

यस अस्पतालमा प्रसुती सेवा लिने बिरामीको संख्या पनि वढ्दो क्रममा रहेको छ । अस्पतालका अनुसार आर्थिक वर्ष २०८०÷०८१ मा ७५५ जना, आर्थिक वर्ष २०८१÷०८२ मा ७५२ जना र गत आर्थिक वर्षमा ९२५ जनाले प्रसुती सेवा लिएका छन । अस्पतालमा प्रसुती सेवा सुरु भएपछि यस क्षेत्रका प्रसुती गराउने महिलाहरुलाई भरतपुर अस्पताल सम्म आउनु पर्ने बाध्यताको अन्त्य भएको छ । यस अस्पतालमा आएका बिरामीको गत आर्थिक वर्षमा १ हजार २७१ जनाको गम्भिर शल्यक्रिया गरिएको छ । जुन संख्या आर्थिक वर्ष २०८१÷०८२ मा १ हजार ३४ र आर्थिक वर्ष २०८०÷०८१ मा १ हजार १८० जनाको गम्भिर शल्यक्रिया गरिएको थियो ।

प्रादेशीक अस्पतालको रुपमा रहेको यस अस्पतालमा अहिले बिरामीको चाप वढ्दै गएको हो । अस्पतालले दिने बिशेषज्ञ सेवा सहितका अन्य सेवाहरुले गर्दा यस क्षेत्रका जनताको बिश्वास बढ्दै गएको उहाँले बताउनुभयो । अस्पतालमा मुख्य रुपमा रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकाबाट धेरै बिरामी आउने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस !