चितवनः डिभिजन वन कार्यालय चितवनले गत आर्थिक वर्षमा ६९ वटा वन्यजन्तु उद्धार तथा व्यवस्थापन गरेको छ । डिभिजन वन कार्यालयको क्षेत्र भित्र रहेका बिभिन्न स्थानहरुबाट ती वन्यजन्तुको उद्धार गरेर व्यवस्थापन गरिएको हो ।
कार्यालयका प्रमुख बिष्णु प्रसाद आचार्यका अनुसार वन क्षेत्रमा सबैभन्दा धेरै अजिंगरको उद्धार गरिएको छ । बस्ति पसेर स्थानीयलाई दुख दिने गरेका ४५ वटा अजिंगरको उद्धार गरेर व्यवस्थापन गरिएको हो । यस्तै ४ वटा चित्तल, रतुवा ३ वटा, धामन सर्प ३ वटा, गोही २ वटा, मयुर २ वटा, लाटोकोसेरो २ वटाको उद्धार गरिएको छ । बाँदर, नियाले बाघ, जरायो, मलसाप्रो, चितुवा, गोहोर, कछुवा, हुच्चिल १÷१ वटाको उद्धार गरि व्यवस्थापन गरिएको हो ।
समुदायमा पसेर समस्या वनाएका एबं समस्या ग्रस्त ती जनावारको उद्धार गरि व्यवस्थापन गरिएको हो । यो संगै गत आर्थिक वर्षमा ४२ वटा मृत वन्यजन्तुको व्यवस्थापन गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार ३० वटा चित्तल, ९ वटा रतुवा, २ वटा वदेल, एउटा स्याल मृत भेटिएर तीनको व्यवस्थापन गरिएको हो ।
यस संगै कार्यालयले गत आर्थिक वर्षमा २६७ वटा साइकलको लिलामी गरेको छ । अबैध रुपमा काठ तस्करीमा प्रयोग गरिएका ती साइकलको लिलामीबाट रु २ लाख ५२ हजार राजश्व संकलन गरिएको थियो । यस आर्थिक वर्षमा ८१ थान मोटरसाईकल लिलामी गर्ने तयारी गरेको छ । कसुरजन्य ÷मुद्धामा नियन्त्रणमा लिईएका र बेबारीसे अबस्थामा भेटिएका गरी ती मोटरसाईकल लिलामी गर्न लागिएको हो ।
आचार्यका अनुसार बिगत लामो समय देखि कार्यालय परिसरमा रहेका ती मोटरसाईकल लिलामी गर्न लागिएको हो । मोटरसाईकल संगै २५ वटा वस, ट्रक, भ्यान, अटो, ट्याक्टर र ५९ वटा साईकलको लिलामी प्रकृया सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।






