जनकपुरधामः धनुषा जिल्ला अदालतले एकैपरिवारका तीन जनालाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको छ ।
दृष्टिबन्धकमा राखिएको जग्गा बैंकमा राखेर रु चार करोड ठगी गरेको आरोपमा अदालतले पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो । धनुषका विभिन्न व्यक्तिहरुले दिएको अनुचित लेनदेन (मिटरब्याज) तथा ठगीसम्बन्धी मुद्दामा जिल्ला प्रहरी कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वर निवासी ५३ वर्षीय गोपाल साह, उहाँका श्रीमती ४८ वर्षीय रेखा साह र छोरा ३२ वर्षीय हरेराम साहलाई यही साउन १ गते पक्राउ गरेको थियो ।
सो मुद्दासम्बन्धी धनुषा जिल्ला अदालत जनकपुरधाममा भएको थुनछेक बहसपश्चात् अदालतका न्यायाधीश हिरामाया अवालको इजलाशले तीनै जनालाई पुर्पक्षमा पठाउने आदेश दिएको अदालतका सूचना अधिकारी हेमकुमार महतोले जानकारी दिनुभयो ।
उहाँका अनुसार नौ जनाको मुद्दामध्ये छ वटा मुद्दामा बहस सकेर पुर्पक्षका लागि तीनै जनालाई कारागार पठाउने आदेश भएको र थप तीन वटा मुद्दामा आज पनि सुनवाइ भइरहेको छ ।
अदालतको आदेशसँगै पुर्पक्षका लागि गोपाल र उहाँका छोरा हरेरामलाई महोत्तरी कारागार तथा रेखा साहलाई सिन्धुली कारागार पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।





