चितवन, ९ साउन ः जिल्ला हुलाक कार्यालय, चितवनले गत आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक प्रगति तथा स्वतः प्रकाशन विवरण सार्वजनिक गरेको छ । कार्यालय प्रमुख शालिकराम बस्यालका अनुसार सूचनाको हक सम्बन्धी ऐनबमोजिम सार्वजनिक गरिएको विवरणमा गत आर्थिक वर्षको साङ्गठनिक, आर्थिक तथा सेवा प्रवाह सम्बन्धी प्रगति समेटिएको छ ।

कार्यालय प्रमुख बस्यालले दिनुभएको जानकारीअनुसार गत आर्थिक वर्षमा कार्यालयले ९१.११ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । विनियोजित कुल रु. ६,३३,६१,११८ वार्षिक बजेटमध्ये रु. ५,७७,३२,९९९ खर्च भएको छ ।

यसैगरी, समीक्षा वर्षमा कार्यालयले कुल रु. १,०९,१७,६०७ राजस्व संकलन गरेको छ। जसमध्ये हुलाक टिकट बिक्रीबाट रु. ५८,७२,६८० र काउन्टर अटोमेशन, पार्सल तथा रोयल्टीलगायतका अन्य सेवा शुल्कबाट रु. ५०,४४,९२७ संकलन भएको प्रमुख बस्यालले बताउनुभयो ।

‘एक स्थानीय तह, एक हुलाक’ अवधारणा लागू

नेपाल सरकारको निर्णयअनुसार गत वर्षदेखि चितवनमा ‘एक स्थानीय तह, एक हुलाक’ को नयाँ साङ्गठनिक संरचना कार्यान्वयनमा ल्याइएको छ ।

अहिले जिल्लाका ६ वटा पालिका (राप्ती, खैरहनी, रत्ननगर, कालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिका) मा पालिका हुलाक कार्यालयहरू सञ्चालनमा रहेका छन्। यसबाहेक भरतपुर महानगरपालिकाभित्रका चनौली, जगतपुर र नारायणगढ गरी ३ वटा हुलाक काउन्टर तथा १२ वटा अतिरिक्त हुलाक कार्यालयमार्फत सेवा प्रवाह भइरहेको छ ।

जिल्लामा स्वीकृत ५३ जनाको दरबन्दीमध्ये गत वर्ष स्थायी २६ र करारमा २३ गरी ४९ जना कर्मचारी कार्यरत रहेको र ४ पद रिक्त रहेको कार्यालयले जनाएको छ। यसबाहेक २२ जना अतिरिक्त हुलाक जनशक्ति कार्यरत छन् ।

सञ्चार क्षेत्रतर्फ कार्यालयले स्थानीय ३५ वटा मिडियालाई रु. ६०,२४,४०३ लोककल्याणकारी विज्ञापन भुक्तानी गरेको छ। साथै, १७ वटा एफ.एम. रेडियो नवीकरण, २२ जना पत्रकारलाई परिचयपत्र वितरण र १९ वटा अनलाइन दर्ता÷नवीकरण गरिएको विवरण कार्यालय प्रमुख बस्यालले दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !