चितवनः नेपाली काँग्रेसका संसदीय दलका नेता भिष्मराज आङ्देम्बेले पार्टी तोड्न तर्फ भन्दा जोड्न तर्फ लाग्नुपर्ने बताउनुभएको छ । ४४ औं विपि स्मृति दिबसका अबसरमा नेपाली काँग्रेस भरतपुर महानगर समितिले आयोजना गरेको बृक्षारोपण कार्यक्रम पछि आज यहाँ पत्रकारहरुसंग कुराकानी गर्दै उहाँले विपि बिचारधारा पार्टीलाई जोड्नका लागि भएको बताउनुभयो ।
उहाँले भन्नुभयो “आजको यो विपि स्मृति दिवसको अबसरमा नेताहरु पार्टी तोड्ने तर्फ नभई जोड्ने तर्फ वढी पहल गर्नुहुने छ ।” काँग्रेस नेता तथा कार्यकर्ताहरु पार्टी एकता कायम गर्ने बिश्वासमा रहेको उहाँले बताउनुभयो । नेता कार्यकर्ताको बिश्वासले मुर्तरुप लिने उहाँले बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र वहादुर बानिया, नेपाली काँग्रेसका नेता डा. केदार नरसिंह केसी, काँग्रेस चितवनका सभापति राजेश्वर खनाल लगाएतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । भरतपुर १० स्थित गेष्टहाउस चौरको सहिद मञ्च पछाडी बृक्षारोपण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !