चितवनः राष्ट्रिय वन क्षेत्र भित्र रहेका तीन वटा सामुदायीक वनमा सन्ध्याकालिन जीप सफारीको तयारी गरिएको छ । जिल्लामा आउने पर्यटकको बसाई लम्भ्याउनका लागि सन्ध्याकालिन जीप सफारी सुरु गर्न लागिएको हो ।
वरण्डाभार जैविक मार्ग अन्तर्गतका सामुदायिक वन क्षेत्रमा पहिलो पटक ‘सन्ध्याकालिन जीप सफारी’ संञ्चालन गर्ने योजनामा डिभिजन वन कार्यालय रहेको छ । कार्यालयका प्रमुख बिष्ण प्रसाद आचार्यका अनुसार रत्ननगर नगरपालिकाको दक्षिण क्षेत्रमा रहेको पञ्चकन्या सामुदायिक वन तथा कालिका नगरपालिका अन्तर्गतका चर्तुमुखी र भीमवली सामुदायिक वनमा सन्ध्याकालिन जीप सफारी सुरु गर्न कार्ययोजना वनाउन लागिएको हो । उहाँले भन्नुभयो “ती सामुदायीक वनको सध्याकालिन जीप सफारी संञ्चालन सहितको प्राब्धान भएको कार्ययोजना वन्दै छ । कार्यायोजना सामुदायीक वनको साधारण सभाले अनुमोदन गरेपछि मात्र प्रकृया अघि वढ्छ ।” अहिले कार्यालयले परिक्षणका रुपमा दुईपटक सन्ध्याकालिन जीप सफारी गरेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार टिकौली देखि भीमवली सामुदायीक वनको गुन्द्रेमान्द्र सम्मको १६ किलोमिटर क्षेत्रमा सन्ध्याकालिन जीप सफारी गरिने छ । कार्ययोजनामा जीप संञ्चालनका लागि सुरक्षा प्रोटोगल समेत समाबेस गरिने उहाँले बताउनुभयो । जस अन्तर्गत सन्ध्याकालिन जीप सफारिका लागि कति वटा जीपलाई अनुमति दिने, कतिवजे देखि कति वजे सम्म संञ्चालन गर्ने, जीप शुल्क कति लिने, सफारीमा वन रक्षक, पर्यटक गाईड राख्ने नराख्ने जस्ता बिषयहरु समाबेश हुने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “यस क्षेत्रमा जीप सफारी अहिले पनि भईरहेको छ । पर्यटकको वसाई लम्भ्याउनका लागि सन्ध्याकालिन जीप सफारी उपयुक्त हुने छ ।” अहिले सडक मर्मतको कामहरु भईरहेको छ । कार्यायोजना पारित भएसंगै साउनको अन्तिम साताबाट सन्ध्याकालिन जीप सफारीका लागि अनुमति दिने योजनामा कार्यालय रहेको छ ।
बरण्डाभार क्षेत्रमा रहेका यी सामुदायीक वनमा रात्रीकालिन वास बस्ने ठाउँ निर्माण गरिने छ । अहिले चर्तुमुखी सामुदायीक वनले रात्रीकालीन बासका लागि एउटा टावरमा दुईवटा कोठा निर्माण गरेर संञ्चालनमा ल्याएको छ भने भमिबली र पञ्चकन्या सामुदायीक वनले अर्को आर्थिक वर्षमा निर्माण गर्ने योजना बनाएका छन् । जसले पर्यटकलाई सुरक्षीत रुपमा बन्यजन्तुको अबलोकन सहित रात बिताउन सहज हुने आचार्यको भनाई छ ।
वरण्डाभार क्षेत्रमा प्रभावकारी संरक्षणका कारण एकसिङ्गे गैँडा, पाटेबाघ, चितुवा, भालु, जरायो, चित्तल र बँदेल लगायतका दुर्लभ वन्यजन्तु सहज रूपमा अवलोकन गर्न सकिन्छ । अहिले सामुदायिक वनहरूले संरक्षण सँगै पर्यापर्यटनलाई प्राथमिकतामा राख्दै जंगल भित्र रहेका ताल तलैयाको मर्मत–सम्भार, वन्यजन्तु अवलोकनका लागि मचान निर्माण तथा पर्यटकमैत्री पूर्वाधार विकासका कार्यलाई पनि तीव्रता दिएको उहाँले जानकारी दिनुभयो । यसले संरक्षणबाट मात्रै सीमित लाभ लिने अवस्थाको अन्त्य गर्दै अब पर्यापर्यटन मार्फत स्थानीय समुदायको आयआर्जन वृद्धि हुनेछ ।






