चितवनः भरतपुरमा यतिबेला गर्मीको मौसम छ । महाधिवेशन स्थलमा चर्को घाम र हुनसक्ने वर्षाबाट बच्न उद्घाटन स्थलमा जर्मन ह्याङ्गर प्रयोग गरिएको छ । भरतपुरको गेस्टहाउस चौरमा प्रतिनिधि, परिवेक्षक र नेता कार्यकर्ताका लागि ३० हजार स्क्वायर फिटको जर्मन ह्याङ्गर जडान गरिएको हो ।
मिडिया स्पेस सोलुसनका प्रबन्ध निर्देशक  श्रीजल भट्टराइका अनुसार बीचमा २० फिट चौडाई र ७५ फिट लम्बाईको छानो भएको ह्याङ्गर जडान गरिएको छ । दुवैतर्फ २० फिट लम्बाई र ३० फिट चौडाईका एक–एक वटा ह्याङ्गर जडान गरिएको छ । ती ह्याङ्गर बीचमा २४ फिट र छेउ छेउमा १४ फिट अग्ला छन् । यो संरचनामा १५ हजार जना अट्ने भट्टराई बताउनुहुन्छ । अन्य खाली ठाउँमा प्यागोडा शैलीका क्यानोपी टेण्ट राखिने छ ।
जर्मन ह्याङ्गरभित्र महिला, जेष्ठनागरिक र असहायका लागि दुई हजारको हाराहारीमा कुर्सी राखिनेछ । बाँकी ठाउँमा चौरमा बस्ने व्यवस्था गरिनेछ । चार वटा एलईडी स्क्रिन पनि जडान गरिनेछ ।
जर्मन ह्याङ्गर अस्थायी किसिमको बलियो टेन्ट हो । भट्टराईले भन्नुभयो, “ह्याङ्गर अल्मुनियमको संरचनामा ‘टेनसाइल फेब्रिक’को छानो राखेर बनाइएको हुन्छ ।” यो आगलागी नहुने घामपानी, हुरीबतासबाट जोगिने किसिमको भएको उहाँले जानकारी दिनुभयो ।
रास्वपाका केन्द्रीय सदस्य राजन गौतमका अनुसार उद्घाटन सत्रमा ३० हजार हाराहारीमा सहभागी हुने अनुमान छ । उद्घाटनका दिन आउनेहरुका लागि छुट्टै पार्किङको व्यवस्था गरिएको छ ।
पूर्वबाट आउने सवारी साधनलाई केन्द्रीय बस ट्रमिनल र अन्य क्षेत्रबाट आउने सवारी साधन वीरेन्द्र बहुमुखी क्याम्पसको बाइपास सडकतर्फको चौरमा राखिने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !