नारायणगढः राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को पहिलो महाधिवेशनको मिति नजिकिँदै जाँदा चितवनको भरतपुरमा चहलपहल बढेको छ । यही असार ७ देखि ९ गतेसम्म भरतपुरमा आयोजना हुने महाधिवेशनका लागि पार्टीका नेता, कार्यकर्ता, प्रतिनिधि, पर्यवेक्षक तथा शुभेच्छुकहरू चितवन आउन सुरु भएको छ ।
रास्वपाका केन्द्रीय सचिवालय सदस्य दीपकराज बोहराका अनुसार प्रतिनिधि तथा सहभागीहरू आउने क्रम असार ७ गते बिहानसम्म जारी रहनेछ । चितवनको गर्मीलाई ध्यानमा राख्दै सहभागीहरूलाई आवश्यक तयारी गर्न सर्कुलर जारी गरिएको उहाँको भनाइ छ ।
महाधिवेशन अवधिमा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण हुन सक्ने भएकाले सकेसम्म कम सवारीसाधन प्रयोग गर्न आग्रह गरिएको छ । सामाजिक सञ्जालमार्फत पनि सहभागीहरूलाई पिउने पानी, छाता तथा हल्का कपडा साथमा ल्याउन सुझाव दिइएको छ ।
महाधिवेशनमा तीन हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने र अन्य शुभेच्छुक तथा कार्यकर्तासमेत आउने भएकाले उहाँको भनाइ छ ।
रास्वपाका केन्द्रीय सदस्य तथा आवास एवं भोजन व्यवस्थापन संयोजक राजन गौतमले जिल्ला–जिल्लाबाट नेता तथा कार्यकर्ताहरू चितवन आउने क्रम जारी रहेको बताउनुभयो । उहाँका अनुसार चितवनका होटल तथा आवास व्यवसायीसँग समन्वय गरी सुलभ दररेट कायम गरिएको छ र त्यससम्बन्धी जानकारी सहभागीहरूलाई उपलब्ध गराइएको छ ।
सहभागीहरूले आफ्नो रुचिअनुसार होटल बुकिङ गरिसकेको जानकारी दिँदै उहाँले महाधिवेशनस्थलमै खानाको व्यवस्था गरिने बताउनुभयो । गौतमका अनुसार प्रतिनिधि तथा पर्यवेक्षकमध्ये करिब ८० प्रतिशतले होटल बुकिङ गरिसकेका छन् । महाधिवेशनका क्रममा चितवनका तीन हजारभन्दा बढी होटल कोठा प्रतिनिधि र पर्यवेक्षकले भरिने अनुमान गरिएको छ ।
महाधिवेशनमा सहभागी हुने प्रतिनिधि तथा पर्यवेक्षकलाई लक्षित गरी चितवनका होटलहरूले विशेष छुटको व्यवस्था गरेका छन् । होटल व्यवसायी सङ्घ चितवन र क्षेत्रीय होटल सङ्घ चितवनले आवासमा २५ प्रतिशत तथा खाना र पेयपदार्थमा १० प्रतिशतसम्म छुट दिने भएका हुन् । महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूले आफ्नो आवास खर्च आफैं व्यहोर्ने व्यवस्था गरिएको छ ।






