चितवनः यहाँको माडी नगरपालिकाले आफ्नो पालिका भित्र प्लाष्टिक जन्य वस्तु बिक्रि बितरणमा रोक लगाएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै प्लाष्टिकबाट निर्माण भएका कप, गिलास, प्लेट, काँटा र अन्य प्लाष्टिक जन्य सामाग्री बिक्रि बितरणमा रोक लगाएको हो ।
नगरपालिकाका कार्यकारी अधिकृत जगत प्रसाद भूषालका अनुसार नगरपालिकाले नगरभित्र रहेका व्यवसायीहरुले बिक्रिका लागि राखेको प्लाष्टिक जन्य सामाग्री व्यवस्थापन गर्न दिएको समय सकिएको छ । उहाँले भन्नुभयो “अब हामी आज देखि वजार अनुगमनमा लाग्छौ । भेटिएका सामाग्री जफत गर्ने गरी काम अघि वढाएका छौ ।” उहाँले थप्नुभयो “इको माडी वनाउने भन्ने, प्लाष्टिक मय वन्छकी भन्ने डर भो ।” प्रतिवन्ध गरिएका सामाग्री बिक्रि बितरण गरिएको पाईए कानुन अनुसार कारवाही समेत हुने उहाँले बताउनुभयो ।
माडी नगरपालिकाले प्लाष्टिकका सामाग्रीको बिकल्पको रुपमा सालका पातबाट वनेका टपरि, दुनाहरु प्रयोग गर्न आग्रह गरेको नगरप्रमुख तारा कुमारी काजी महतोले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “अहिले प्लाष्टिक जन्य वस्तु प्रयोगमा न्यूनिकरण गर्दै जाने र यसलाई बिस्थापन गर्ने योजनामा हामी रहेका छौ ।” पर्यटकीय स्थल, होमस्टे, सार्वजनिक कार्यक्रमहरुमा प्लाष्टिक जन्य सामाग्री निषेध गरिएको उहाँले जानकारी दिनुभयो ।
माडी नगरपालिका चितवन राष्ट्रिय निकुञ्ज र चुरेले घेरिएको छ । माडी पुग्न निकुञ्ज पार गर्नुपर्ने हुन्छ ।






