चितवनः नेपाल चिकित्सक संघले आगामी जेठ १६ र १७ गते यहाँ अल नेपाल मेडीकल कन्फ्रेन्स ‘एनएमए कन २०२६’ गर्ने भएको छ । संघले आफ्नो ३० औं सम्मेलन (कन्फ्रेन्स) वी.पी. कोईराला मेमोरीयल क्यान्सर अस्पतालको सभाहलमा गर्न लागेको हो ।
संघका अध्यक्ष डा. अनिलबिक्रम कार्कीका अनुसार सम्मेलनमा भारत र चीनका बिशेषज्ञ चिकित्सकहरु समेत सहभागी हुने छन् । यसै गरी विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरु कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । बिश्व मेडीकल एशोशियसनका बिज्ञहरुको भिडियो प्रस्तुती करण रहने छ । देशभरबाट प्रतिनिधि मूलक रुपमा चिकित्सकहरु सहभागी हुने छन् ।
कार्कीका अनुसार चार वटा प्यानल छलफल गरिने छ । कार्यक्रममा ६० वटा कार्यपत्र र अन्य बैज्ञानीक प्रस्तुतीकरण सहित गरी एक सय भन्दा बढी प्रस्तुतीकरण हुनेछन् । सम्मेलनमा प्राथमिक स्वास्थ्य सेवा सुधार, डिजिटल हेल्थ, ग्रामीण स्वास्थ्य पहुँच, स्वास्थ्य बीमा र मानव संसाधन व्यवस्थापन जस्ता विषयमा विशेष सत्रहरू सञ्चालन गरिने उहाँले बताउनुभयो । हरेक दुई ÷दुई वर्षमा हुँदै आएको यो कार्यक्रम बाह्र वर्ष यता तीन÷तीन वर्षमा गर्न थालिएको छ । यस वर्षको सम्मेलनको मूल नारा “आधुनिक, सुलभ, किफायती र समान स्वास्थ्य सेवाका लागि नवप्रवर्तनमार्फत प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरण” भन्ने रहेको छ । उहाँका अनुसार नेपालको स्वास्थ्य क्षेत्रमा देखिएका पहुँच, गुणस्तर र लागत सम्बन्धी चुनौतीलाई समाधान गर्न नवप्रवर्तनलाई केन्द्रमा राखेर छलफल गरिनेछ ।
यसपटकको सम्मेलनमा संविधानले प्रत्याभूत गरेको आधारभूत स्वास्थ्य अधिकारलाई कसरी सुदृढ बनाउने र स्वास्थ्य क्षेत्रमा विश्वका नयाँ प्रविधि र आविष्कारहरूलाई कसरी जोड्ने भन्ने विषयमा केन्द्रित रहेर वैज्ञानिक सत्रहरू सञ्चालन हुने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !