चितवनः चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् तथा तालिम केन्द्र खोरसोर सौराहामा यस आर्थिक वर्षमा चार वटा छावा जन्मिएका छन् । गत आर्थिक वर्षमा दुई वटा छावा जन्मिएका थिए । थप एउटा हात्तीले यस वर्ष बच्चा जन्माउने अवस्थामा पुगेको छ ।

प्रजनन् केन्द्रका प्रमुख मनपुरण चौधरीका अनुसार तमोर, रिमझिम, लोकतन्त्र र तीर्थमान कलीले यस वर्ष छावा जन्माएका हुन् । तीर्थमान कलीले पोथी र अरुले भाले छावा जन्माएका छन् । हाल केन्द्रमा नौ वटा माउ, एउटा तालिमे बच्चा र छ वटा साना बच्चा छन् । ती मध्ये दुई वटा गत वर्षका हुन् भने चार वटा यसै वर्षका हुन् । हात्तीले गर्भधारण गरेको २२ देखि २४ महिनामा बच्चालाई जन्म दिने गर्दछन् ।

निकुञ्जभित्रका विभिन्न पोष्टमा गरी कूल हात्तीको संख्या ५८ वटा रहेका थिए । गत वर्ष दुई वटा हात्ती कतार पठाईएको छ । बि.सं. २०४४ सालमा स्थापना भएको यस केन्द्रमा हालसम्म ६८ वटा बच्चा जन्मिसकेका छन् । यहाँका पोथि हात्तीलाई जंगली हात्तीले केन्द्रमा आएर गर्भधान गराउने गर्दछन् ।

ध्रुवे, रोनाल्डो, गोविन्दे र गत साल मरेको मकुनाले यहाँ पोथी हात्तीलाई प्रजनन् गराउँदै आएका छन् । यसै महिनाबाट भीम गज र शेरगज नाम दिईएका दुई वटा जंगली हात्ती पनि केन्द्रमा आउन थालेका छन् । केही दिन अघि शेरगज र रोनाल्डो बीचमा केन्द्रमा लडाई भएपछि अन्य हात्ती र माउते तर्सित भएका थिए ।

यहाँ जन्मिएका हात्तीका छावालालाई तालिम दिएर निकुञ्जका पोष्टहरुमा काम गर्न पठाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस !