चितवन: विश्व भेटेरिनरी दिवस २०२६ को अवसरमा नेपाल भेटेरिनरी एशोसिएसन, बागमती प्रदेश, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, हेटौंडा र पशु सेवा कार्यालय, चितवनको संयुक्त आयोजनामा चितवनमा दुई दिने विविध कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रमअन्तर्गत पहिलो दिन २०८३ वैशाख ११ गते देवघाटधामस्थित योगी नरहरिनाथ गौ संरक्षण केन्द्रमा एकदिने पशु स्वास्थ्य शिविर तथा आहार र औषधि वितरण कार्यक्रम सञ्चालन गरिएको थियो। उक्त शिविरमार्फत गौसालामा रहेका पशुहरूको स्वास्थ्य परीक्षण, उपचार, बाँझोपन परीक्षणका साथै आवश्यक प्राविधिक परामर्श सेवा विज्ञ टोलीद्वारा प्रदान गरिएको आयोजकले जनाएको छ।
दोस्रो दिन २०८३ वैशाख १२ गते बिहान भेटेरिनरी सेवाको महत्व तथा पशु स्वास्थ्य र जनस्वास्थ्यसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो। सोही अवसरमा नयाँ वर्ष २०८३ को शुभकामना आदान–प्रदान, प्राविधिक सेमिनार तथा टेबल क्यालेन्डर विमोचन कार्यक्रम समेत सम्पन्न भएको थियो।
कार्यक्रमका क्रममा पशु स्वास्थ्यसँग सम्बन्धित जिम्मेवार औषधि प्रयोगको विषयमा पनि विशेष जोड दिइएको थियो। विशेषगरी गिद्ध संरक्षणसँग प्रत्यक्ष सम्बन्धित केही औषधिहरू जस्तै डाइक्लोफेनाक (Diclofenac) पहिले नै प्रतिबन्धित रहेको र हालै एसेक्लोफेनाक, निमेसुलाइड तथा केटोप्रोफेन समेत प्रतिबन्धित औषधिको सूचीमा थपिएको तथा सुरक्षित विकल्प अपनाउन सहभागीहरूलाई सचेत गराइएको थियो।
“Veterinarians: Guardians of Food and Health” भन्ने नारालाई आत्मसात गर्दै आयोजना गरिएका कार्यक्रमहरूले भेटेरिनरी पेशाको खाद्य सुरक्षा, जनस्वास्थ्य तथा समग्र समाजको स्वास्थ्य संरक्षणमा रहेको महत्वपूर्ण भूमिकालाई उजागर गरेको उल्लेख गर्दै नेपाल भेटेरिनरी एशोसिएसन, बागमती प्रदेशका अध्यक्ष डा. निमेष खनालले संघले गत एक वर्षमा सम्पन्न गरेका गतिविधिहरूको कार्यविवरण प्रस्तुत गर्नुभएको थियो। साथै, कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउने विभिन्न संघसंस्था तथा सहयोगी हातहरू प्रति अध्यक्ष खनालले हार्दिक धन्यवाद व्यक्त गर्नुभएको थियो।






