चितवनः दश वर्ष दुवइमा मजदुरी गरेर फर्कनु भएका टिका वहादुर गुरुङ्ले मायाँटारमा घरबास सुरु गरे पछि विदेश फर्कने सोच वदल्नु भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ३ मायाँटारमा बाटो छेउमा आँफै वसेको घरबाट उहाँले घरबास सुरु गर्नुभएको हो ।
वि. सं. १९७८ सालमा बनेको पुरानो सैलीको घरमा बाटो हिड्नेहरुलाई बास दिने चलन थियो । यही बाटो हुँदै उपरदाङ्गढी, शक्तिखोर, हुग्दी खोला, इच्छाकामना मन्दिर, फिस्लीङ् लगाएतका ठाउँमा हिडेर जानेहरु रातमा यही वास वस्ने गर्थे । गुरुङ्ले भन्नुभयो “बाटोको घर भएकाले यही बाटो हुँदै हिडडुल गर्नेहरुको बस्ने थलो हो यो ।” उहाँले थप्नुभयो “हामीले पहिला देखिनै खान खान दिन्थ्यौ, मान्छे सुताउँथ्यौ ।”
दश वर्षको बैदेशीक रोजगार पछि फर्कनु भएका गुरुङ्ले चार वर्ष अघि यो घरलाई मर्मत सम्भार गरेर घरबासका लागि कोठा बनाउनुभयो । दुवइमा होटलमा काम गरेको अनुभव लिनुभएका उहाँले फेरी फर्किएर जानु भन्दा यही केही गर्ने सोच वनाउनुभयो । दुवइमा मासिक रु १ लाख कमाउने गुरुङ यहाँ तीन जनालाई रोजगारी दिएर रु ८० हजार हाराहारी कमाई हुन थालेपछि बिदेश जाने योजना स्थगित गरेर यही घरबास संचालन गरेको बताउनुहुन्छ । साथी भाईको सुझाबलाई मनन् गर्दै उहाँले आफ्नो पुरानो घरमा घरबास वनाउनुभयो । उहाँले भन्नुभयो “यही घरबाट सुरु गरेको पहिलो पिडीमा दुईवटा कोठा र पछि दुईवटा गरेर चारवटा कोठा तयार भयो ।” यही घरमा उहाँहरुको परिवार वस्थ्यो ।
जिल्लाको पहाडी भूभागमा घरबास बने पछि त्यहाँ जानेहरुको चहलपहल वढ्न थाल्यो । गर्मीको मौषममा जानेहरु बढी हुन थाले । बिहानै घाम लाग्ने भएकाले जाडो महीनामा पनि रात विताउन जानेहरु वढ्न थालेपछि आँफुले घरबास बिस्तार गरेको उहाँ बताउनुहुन्छ । अहिले घर वाहिर पनि कोठा बनाउनुभएको छ । ११ वटा कोठा छन् । ती मध्ये चार वटामा संगै शौचालय पनि छ । उहाँले भन्नुभयो “पाहुनाको माग अनुसार बिस्तार गर्दै छौ ।” हिजो मायाँटार सुगम जिल्ला भएर पनि कर्णाली जस्तो रहेको भन्दै उहाँले बाटो, बत्ति सबै भए पछि अब मायाँटार पर्यटकीय गन्तव्य वन्न सकेको उहाँ बताउनुहुन्छ । दुई वर्ष यता मायाँटारमा बिजुली बत्ति पुगेको छ । त्यस अघि पाहुनालाई टुकी र सोलारको उज्यालोमा राख्ने गरेको उहाँ बताउनुहुन्छ । मायाँटार चिनाउन चितवनका पत्रकारको भूमिका रहेको भन्दै उहाँले भन्नुभयो “मायाँटार मायाँटार वन्नुमा पत्रकारको ठूलो हात छ । समाचारकै कारण यहाँ बिजुली आयो र घुम्ने ठाउँहो भन्ने प्रचार भयो ।”
मायाँटार घुम्न आउनेहरुका लागि यहाँको रमणीय बातावरण संगै नजिकै रहेको बालगौरी पाथिभरा मन्दीर प्रमुख गन्तव्य हो । सेतो पहरा गुफा यहाँबाट १५ मिनेटको दुरीमा छ । तीन किलोमिटर पर पर्यटकीय गन्तव्य रिग्दी खोला छ । जहाँ चिसो पानीमा नुहाउन र असला माछा पाईन्छ । त्यस्तै उपरदाङ्गढी यहाँबाट नजिकै पर्दछ । प्रचार हुँदै गए पछि पाहुनाको चाप हुन थालेको छ । एक रातमा ४० जना सम्म राख्ने क्षमता आँफु संग रहेको भन्दै उहाँले अहिले वरपर अरुले पनि घरबास वनाउन थालेको बताउनुभयो । बिदाको दिनमा पहिलेनै फोनमार्फत बुकिङ् हुने गरेको उहाँ बताउनुहुन्छ । आँफुले स्थानीय उत्पादीत खानेकुराहरु पाहुनालाई खुवाउने गरेको गुरुङ्ले बताउनुभयो । त्यही उत्पादन भएको फर्सि, स्कुस, निगुरो, लोकल कुखुरा,बोका, खसी जस्ता स्थानीय उत्पादनमा पाहुनाहरु रमाउने गर्दछन् ।
चितवनको तराई क्षेत्रमा अत्याधिक गर्मी हुँदा पनि त्यहाँ सिरक ओढेर सुत्नु पर्छ । यहाँ चितवन सहित काठमाडौं, मकवानपुर, पर्सा, नवलपरासी, कास्कि लगाएतका धेरै जिल्लाबाट आन्तरिक पर्यटकहरु घुम्न आउने गर्छन् । यो समुन्द्रिक सतहबाट करिब ३ हजार ५ सय मिटर उचाइमा छ । भरतपुरबाट १ घण्टा ३० मिनेट हाराहारीको यात्रामा यहाँ पुग्न सकिन्छ । शक्तिखोर हुँदै त्यहाँ पुग्ने सडक कालोपत्रे छ । यही सडक हुँदै पृथ्वी राजमार्गको धादिङको हुग्दी खोला, धादिङ र चितवनको सिमानामा पर्ने मौवा खोला र चितवनको फिस्लिङमा पुग्न सकिन्छ । राजमार्ग तर्फबाट पनि त्यतीनै समयमा मायाँटार आउन सकिन्छ ।






