चितवनः हावा हुरीका कारण जिल्लाका किसानले लगाएको केरा खेतीमा ठूलो नोक्सान भएको छ । यही चैत २ गते आएको हावाहुरीले रु ४ करोड भन्दा वढीको केरामा क्षती भएको प्रारम्भिक तथ्याङ्क आएको छ । यो तथ्याङ्क वढ्ने देखिन्छ ।
राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रम कार्यान्वयन ईकाई चितवनका प्रमुख महेश रेग्मीका अनुसार बुधबार र बिहिबार दुई दिन केरामा क्षती पुगेका क्षेत्रहरुको अनुगमन गरिएको छ । सो क्रममा २० वटा फार्ममा अनुगमन गरिएको उहाँले बताउनुभयो ।
हावाहुरीले भरतपुर महानगरपालिकाको वडा नम्बर ७, २३, रत्ननगर नगरपालिका ५, १२, १४, खैरहनी नगरपालिकाको वडा नम्बर १३, कालिकाको वडा नम्बर २ देखि ५ सम्मका क्षेत्रमा बढी क्षती पु¥याएको छ । रेग्मीका अनुसार बगानहरुमा एक प्रतिशत देखि ८८ प्रतिशत सम्म क्षती भएको देखिएको छ । उहाँले भन्नुभयो “एउटा फार्ममा ८८ प्रतिशत क्षती भएको पायौं । सबैको अबस्था त्यस्तो छैन ।” हावा हुरीले मालभोग केरामा ठूलो क्षती पुगेको छ । मालभोग केरामा ७८ प्रतिशत र जी नाइन केरामा २२ प्रतिशत क्षती भएको उहाँले जानकारी दिनुभयो । समग्रमा ४३ दशमलब ३५ प्रतिशत केरामा क्षती भएको उहाँले बताउनुभयो । कार्यालयमा १ हजार ८ सय हेक्टरमा लगाईएको केरा सूचिकृत गरिएको छ ।
व्यवसायीक रुपमा केरा खेती गर्ने किसान वढेको भए पनि अन्य समयमा भन्दा छिटो हावाहुरी आउँदा किसानले क्षती वेहोर्नु परेको केरा सुपरजोन चितवनका संयोजक बिष्णुहरी पन्त वताउनुहुन्छ । उहाँले भन्नुभयो “बिमाले खेतीको बिमा सुरु हुने समय ढिलो गरिदिने र अन्य समयमा भन्दा चाँडो हावाहुरी आउने हुँदा किसान मर्कामा परेका छन् ।” किसानले क्षतीपूर्ती समेत पाउन कठिन हुँदा अझै समस्या हुने गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार गत वर्षको क्षतीपूर्ती रकम समेत अहिले सम्म किसानले पाउन सकेका छैनन् । अहिलेको क्षतीपूर्ती त कहिले पाउने हो थाहा नभएको उहाँले बताउनुभयो । अहिले सम्म जिल्लामा केरा खेती गरेका किसानले रु ४ करोडको क्षतीपूर्ती माग गर्दै बिमा कम्पनीमा निवेदन वुझाएको उहाँले बताउनुभयो । थप निवेदन आउने क्रममा रहेको र कतिपयले बिमा नगरेकाले एकिन तथ्याङ्क आउन समय लाग्ने बताउनुभयो ।
चितवन केरा उत्पादक संघका अध्यक्ष घननाथ महतो चैत २ गते आएको हावाहुरीका कारण जिल्लामा लगाईएको मालभोग केरामा ठूलो क्षती पुगेको बताउनुहुन्छ । अहिले जिल्लामा २ हजार हेक्टर क्षेत्रफलमा व्यवसायीक केरा खेती हुँदै आएको छ । केरा सुपरजोनका रुपमा जिल्लामा काम हुँदै आएको बताउँदै उहाँले हावा हुरीका कारण कति क्षत्रफलमा लगाईएको केरामा क्षती भयो भन्ने बिषयमा संघले तथ्याङ्क संकलन गरिरहेको बताउनुभयो । केरामा हावाका कारण भएको क्षतीले केरा उत्पादक किसान चिन्तीत भएको उहाँको भनाई छ । गत वर्षहरुमा वैशाखको अन्तिम तिर आउने हावाहुरी यस वर्ष चाँडो आउँदा किसानले ठूलो क्षती वेहोर्नु परेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “केरा उत्पादन गर्ने किसानले बिमा गरेका छन् । तर बिमा बाट पाउने रकम ढीलो हुँदा अझै किसान निरास वन्दै गएका छन् ।”
रत्ननगर नगरपालिका वडा नम्बर ११ निवासी कृषक बाबुराम भट्टले लगाएको ६ विगाह केरामा क्षती पुगेको छ । अर्काको जग्गा भाडामा लिएर केरा खेती गर्दै आउनुभएका भट्ट चैत सुरु भए संगै हावा हुरी आएका कारण क्षती वेहोर्नु परेको बताउनुहुन्छ । आफुले लगाएको केरा उत्पादन लिने समयमा हावाहुरीले ढलाए पछि अहिले केरा वगान सरसफाईका लागि मजदुर लगाएर काम गर्नु पर्ने अबस्थामा पुगेको उहाँको भनाई छ । उहाँले लगाएको केरा अधिकांश ढलेको अबस्थामा पुगेको छ ।
अहिले प्रतिहेक्टर मालभोग २४ टन र जि नाइन ५५ टन उत्पादन हुँदै आएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । जिल्लामा व्यवसायीक रुपमा सत सय किसानले केरा खेती गर्दै आएका छन् ।






