चितवनः चितवन राष्ट्रिय निकुञ्जले आफ्नो क्षेत्र भित्र पोखरी निर्माण र मर्मतको काम सुरु गरेको छ । हरेक वर्ष गर्मी समयमा वन्यजन्तुका लागि पोखरी निर्माण र मर्मत गरिन्छ ।
निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार जनावरलाई खान, जलमा बस्ने जनावरका लागि वसस्थान र घाँसेमैदान सिचाईका लागि पोखरी निर्माण गर्ने गरिन्छ । उहाँले यस वर्ष तीन वटा नयाँ पोखरी निर्माण र ४ वटा पोखरी मर्मतको काम गर्न लागिएको बताउनुभयो । उहाँले भन्नुभयो “यस वर्ष हामीले पोखरी निर्माण र मर्मत वन्यजन्तुको बासस्थानका आधारमा गर्न लागेका छौ ।”
निकुञ्ज भित्र ५६ वटा पोखरी तथा ताल तलैया रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार ती सबै पोखरी तथा तालहरुमा सरसफाई गर्न नसकीए पनि महत्वपूर्ण स्थानमा रहेका ताल र पोखरी निर्माण गर्न लागिएको हो । यस निकुञ्जमा दुर्लभ एक सिंगे गैंडा, पाटेबाघ, भालु, चित्तल, हात्ती लगाएतका जनावरहरुको बसस्थान रहेको छ । चर्को गर्मीसँगै वन्यजन्तुलाई पानीको आबश्यक पर्ने भएकाले पोखरी निर्माण गर्न लागिएको हो । वन्यजन्तु पानीको आबश्यकताले समुदायमा जान रोक्नका लागि समेत सहयोग पुग्ने छ ।
९५२ दशमलब ६३ हेक्टर क्षेत्रफलमा फैलिएको निकुञ्जमा घाँसेमैदान व्यवस्थापनका लागि नियन्त्रीत डढेलो लगाउने काम समेत सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !