चितवनः चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणना सकिएको छ । गत पुस ३ गते देखि सुरु गरिएको बाघ गणनाको कार्य आज देखि सकिएको हो ।
निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार तेस्रो व्लकको काम सकिएर क्यामेरा संकलनको काम समेत आज सकिएको हो । उहाँले भन्नुभयो “तीन वटै व्लकमा १३ वटा टोलीले काम गरेको हो ।” उहाँका अनुसार पहिलो व्लक त्रिवेणी, अमलटारी, कसरा, हुँदै बरण्डाभार क्षेत्रलाई पहिलो भाग बनाएर गणना गरिएको थियो । पहिलो व्लकलाई २८६ वटा ग्रिड बनाएर गणना गरिएको थियो ।
क्यामेरा उठाएपछि दोस्रो भागमा क्यामेरा जडान गरी गणना सुरु गरिएको थियो ।
दोस्रो भागमा १३ वटा क्याम्प बनाएर गणना गरिएको थियो । यस भागअन्तर्गत सौराहा, खगेन्द्रमल्ली हुँदै लोथर प्रतापपुर, बोटे सिमारा, स्वमेश्वर, बगइ, अम्बुवा, सिकारी बाससम्मको क्षेत्रमा क्यामेरा जडान गरेर गणना गरिएको थियो । सो व्लकलाई ३३६ ग्रिडमा विभाजन गरेर बाघ गणना गरिएको हो ।
यस्तै पर्सा राष्ट्रिय निकुञ्जलाई तेस्रो व्लक वनाएर गणना गरिएको थियो । सो व्लकमा समेत ३३६ वटा ग्रिड निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार एउटा ग्रिडमा एक जोडी स्वचालित क्यामेरा राखेर गणना गरिएको हो । थापाका अनुसार एउटा व्लकमा १७ रात क्यामेरा राखेर काम गरिएको हो ।
चितवन–पर्सा ब्लकमा ९५८ वटा ग्रिड बनाएर बाघ गणना गरिएको हो । दुई वर्ग किलोमिटर क्षेत्रलाई एउटा ग्रिड बनाएर गणना गरिएको हो । उहाँले भन्नुभयो “अहिले क्यामेरा उठाएर ल्याउने क्रम जारी छ । साँझ सम्म सबै क्यामेरा आई सक्छन् ।” हरेक चार वर्षमा बाघ गणना गरिँदै आएको छ । निकुञ्जका कर्मचारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, स्थानीय स्वयंमसेवी, विद्यार्थी र संरक्षणका साझेदारहरू गणनामा सहभागी भएका थिए ।
गणकहरूले भूगोल अनुसार आठदेखि बाह्रसम्मको ग्रिडमा राखिएका क्यामेरा दैनिक अनुगमन गर्ने गरेको उहाँले जानकारी दिनुभयो । बाघको फोटो हेरेर तिनीहरूको शरीरमा भएका पाटाका आधारमा सङ्ख्या छुट्याइने छ ।
यसअघि सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३५५ वटा वयस्क बाघ रहेका तथ्याङ्क सार्वजनिक भएको थियो । सो गणनामा चितवनमा एक सय २८, बर्दिया निकुञ्जमा एक सय २५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ भेटिएका थिए ।






