चितवन, २ फागुन ः
नेपाली कांग्रेसका तर्फबाट गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रकाशचन्द्र दवाडीले आफू जनतासँगै काम गर्ने कामदारकै रूपमा खडा हुने व्यक्ति भएको बताउनुभएको छ । गोरखाबाट चितवन आएर अस्थायी रूपमा बसोबास गरिरहेका आफ्ना मतदातासँग साक्षात्कार गर्न आज यहाँ आइपुग्नुभएका उहाँले राज्यको तलब भक्ता एक सुका पनि नलिई काम गर्ने प्रतिबद्धता दोहोर्याउनुभयो । “पहिले प्रदेश सांसद हुँदा पनि एक सुका नखाई सेवा गरेको थिएँ । अब आउने पाँच वर्ष पनि तलब–भत्ता नलिई काम गर्नेछु,” उहाँले भन्नुभयो । आफूले पाउने तलब–भत्ता जनताको सेवामा खर्च गर्ने उहाँको भनाइ थियो ।
उहाँले गोरखा तथा चितवन क्षेत्रमा जाँदा ‘नेता फर्केर आउँदैनन्’ भन्ने गुनासो सुन्ने गरेको उल्लेख गर्दै आफू भने जनताबाट टाढा नभागेको बताउनुभयो । “म चुनाव नआउँदा पनि गाउँ–टोल पुगेको छु, चुनाव आएपछि अलि धेरै पुगेको मात्र हो,” उहाँले भन्नुभयो । नेता भएपछि सबैलाई एउटै दृष्टिले हेर्ने प्रवृत्ति रहेको भन्दै आफू त्यसबाट फरक भएको दाबी गर्नुभयो ।
देशको परिवर्तनका लागि आफू चुनावी मैदानमा उत्रिएको बताउँदै उहाँले जिते पनि हारे पनि सधैँ जनताको साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । लामो समय विदेश बसेर फर्किएको अनुभव सुनाउँदै विदेशमा रहेका नेपालीको पीडा आफूले नजिकबाट बुझेको र त्यसको समाधानका लागि काम गर्ने बताउनुभयो । आफ्नो क्षेत्रको विकासका लागि स्पष्ट खाका तयार पारेको उल्लेख गर्दै त्यसलाई कार्यान्वयन गर्न संसदमा पुग्न आवश्यक रहेको उहाँको भनाइ थियो । चुनावी घरदैलो र भेटघाटका क्रममा सबैसँग प्रत्यक्ष भेट हुन नसकेको स्वीकार गर्दै उहाँले चुनावपछि सबैलाई क्रमशः भेट्ने वाचा गर्नुभयो ।
यसअघि विसं २०७४ मा गोरखा क्षेत्र नं २ प्रदेश (ख) बाट गण्डकी प्रदेशसभा सदस्य निर्वाचित हुनुभएका दवाडीले त्यसबेला पाउने तलब तथा सेवा–सुविधा जनताको सेवामा खर्च गर्नुभएको थियो ।






