चितवनः रोजगारीको शिलशिलामा बिदेश गएर फर्किएका कामदारमा यौन रोगको समस्या बढी देखिने गरेको पाईएको छ । एचआईभी संक्रमितहरुको उपचार गर्दै आएको भरतपुर अस्पतालमा रहेको एआरटी सेन्टर र नारायणी अस्पताल बिरगञ्जको एआरटी सेन्टरले गरेको अध्ययनमा यस्तो भेटिएको हो ।
दुई अस्पतालमा १ हजार ६३७ जनाको परिक्षणका क्रममा १०२ जनामा यौन रोग देखिएको भरतपुर अस्पतालको एआरटी सेन्टरका प्रमुख कृष्णहरी सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार यौन रोग संक्रमित मध्ये ३२ जना रोजगारीको शिलशिलामा बिदेश गएर फर्किएका रहेका छन् । यस्तै यौन व्यवसायमा लागेका ६ जना, उनीहरुको साथीहरु २२ जना, तेस्रो लिङ्गी ११ जना र अन्य ३१ जना रहेका छन् ।
यौन रोगमा सबैभन्दा धेरै भिरिङ्गीको संक्रमण देखिएको उहाँले बताउनुभयो । उहाँका अनुसार ८८ जनामा यो रोगको समस्या देखिएको छ । उहाँले भन्नुभयो “यौन रोग मध्य ८८ जनामा भिरिङ्गी देखिएको छ भने अन्य यौनरोगहरु १४ जनामा देखिएको छ ।” अन्य यौनरोगमा भेरिना, पाठेघरको संक्रमण एबं ढुसी जन्य संक्रमणहरु देखिएको पाईएको हो ।
असुरक्षित यौन सम्पर्कका कारण यौन रोगको संक्रमण वढेको पाईएको भरतपुर अस्पतालका बरिष्ठ फिजिसियन डा. प्रमोद पौडेलले बताउनुभयो । उहाँका अनुसार यौन रोग बढ्नुमा कण्डमको प्रयोग नगर्नु यसको मुख्य चुनौति बनेको छ । यसको राकथामका लागि सबैले सुरक्षित यौन सम्पर्क गर्ने र समय समयमा स्वास्थ्य परिक्षण गरिरहनु पर्ने हुन्छ । पौडेलले भन्नुभयो “यौन व्यवसायमा लागेका या नलागेका सबैले सुरक्षित रुपमा यौन सम्पर्क गर्न सके यौन रोगबाट बाँच्न सकिन्छ ।”






