चितवनः यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएको छ । मूख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधिस केदारनाथ पौडेल र प्रमुख जिल्ला अधिकारी गणेश अर्यालयले संयुक्त रुपमा कार्यालयको आज उद्घाटन गर्नुभएको हो ।

भरतपुर महानगरपालिका वडा नं. १० स्थित घरेलु तथा साना विकास कार्यालयको पुरानो भवनमा कार्यालय स्थापना गरिएको हो । कार्यालय उद्घाटन पछि बोल्दै मुख्य निर्वाचन अधिकृत पौडेलले प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत पहिलो हुने निर्वाचन पद्धती अनुसार निर्वाचन आयोगद्धारा प्रकाशीत कार्यतालिका अनुसार काम गरिने बताउनुभयो । उद्घाटन गरिएको कार्यालयमा चितवन क्षेत्र नं. २ को समेत कार्यालय रहने छ ।
आज जिल्लाका तीनै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी कामलाई अघि वढाईने उहाँले जानकारी दिनुभयो । निर्वाचन कार्यालतालिका अनुसार निर्वाचनका कार्यक्रमहरु प्रकाशीत गर्ने, मतदान स्थल र केन्द्रका नामावलीहरुको प्रकाशन गरिने उहाँले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी अर्यालले निर्वाचनका लागि सुरक्षा व्यवस्था चुस्त रुपमा बढाईएको बताउनुभयो । निर्वाचनको समयमा हरेक पटक उत्तीकै चुनौतिपूर्ण हुने भन्दै यसलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थापनको पाटोमा जिल्ला प्रशासन कार्यालय लागेको उहाँले बताउनुभयो ।

जिल्लाका क्षेत्र नम्बर १ को खैरहनीमा भूमिगत जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयमा र ३ को पश्चिम चितवनको रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्व विद्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिदैं छ । ती कार्यालयमा क्रमशः सर्वोच्च अदालतका अनुसन्धान अधिकृत विकास कुमार रजक र वन मन्त्रालयका कानुन उपसचिव बालकृष्ण निरौला निर्वाचन अधिकृतको रुपमा तोकिनु भएको छ ।

फागुन २१ गते हुने निर्वाचनमा जिल्लाका तीन वटा निर्वाचन क्षेत्रमा ४ लाख ४२ हजार ८२ जना मतदाता रहेका छन् । जसमा २ लाख १७ हजार ३१४ जना पुरुष र २ लाख २४ हजार ७६६ जना महिला एवं २ जना तेस्रो लिङ्गी रहेका छन् ।

जिल्लामा १६२ वटा स्थल र ४९४ वटा केन्द्र रहने निर्वाचन कार्यालय चितवनका प्रमुख भिमशेन कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिनिधि सभा निर्वाचन २०७९ को निर्वाचनको तुलनामा यस वर्ष हुने प्रतिनिधि सभा निर्वाचनमा ३३ हजार ७४० जना नयाँ मतदाता थपिएका छन् भने ३४ वटा मतदान केन्द्र थप भएका छन् ।

क्षेत्र नम्बर १ मा १ लाख ४९ हजार ६२१ जना मतदाता रहेका छन् । जसमा ७६ हजार ७६१ जना पुरुष र ७५ हजार ८६० जना महिला रहेका छन् । यस क्षेत्रमा ५६ वटा मतदान स्थल र १६८ वटा मतदान केन्द्र रहेका छन् ।

यस्तै क्षेत्र नम्बर २ मा १ लाख ३७ हजार १५२ जना मतदाता रहेका छन् । ती मध्ये ६७ हजार ८५७ पुरुष र ६९ हजार २९४ महिला एवं एक जना तेस्रो लिङ्गी रहेका छन् । यहाँ ४८ वटा स्थल र १५२ वटा केन्द्रबाट ती मतदाताले मतदान गर्ने छन् ।
क्षेत्र नम्बर ३ मा १ लाख ५५ हजार ३०९ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ । ती मध्ये ७५ हजार ६९६ जना पुरुष र ७९ हजार ६१२ जना महिला एवं एक जना तेस्रो लिङ्गी रहेका छन् । उनीहरुले ६३ वटा स्थल र १७४ वटा केन्द्रबाट मतदान गर्ने छन् ।

प्रतिनिधि सभा २०७९ मा जिल्लामा ४ लाख ८ हजार ३४२ मतदाता रहेका थिए ।

प्रतिक्रिया दिनुहोस !