चितवनः क्रमशः बढ्दै गएको अण्डाको मूल्य भारी रुपमा घटेको छ । फार्ममा ठूलो अण्डा रु.५६५ प्रतिक्रेट (३० वटाको) पुगेको अण्डाको मूल्य घटेर रु. ४७५ मा झरेको हो ।

मिडियम अण्डाको प्रतिक्रेट रु.५५० बाट रु.४६० मा झरेको छ । नेपाल लेयर्स कुखुरा पालक संघले फार्महरुसँग लिएको मूल्यलाई एकीकृत गराएर मंगलबारबाट लागू हुने गरी अण्डामा प्रतिक्रेट रु. ९० घटाएको हो ।
संघका अध्यक्ष विनोद पोखरेलका अनुसार ठूला फार्महरुबाट दररेट लिएर समर्थन मूल्य तोकिएको हो । यससँगै उपभोक्ता मूल्य प्रतिगोटा रु. २५ बाट रु.२० मा झारिएको छ । बढ्दो जाडोसँगै उपत्यका र हिमाली भागहरुमा विद्यालय बन्द र गतिविधि कम भएको, पर्यटकको आगमन घट्दै गएको, अण्डाको मूल्य राम्रो पाईने आशामा बुढा कुखुराहरु फार्महरुले बिक्री नगरी अण्डा उत्पादन गरिरहेका लगायतका कारणले मूल्य घटेको हो ।

पहिलेको तुलनामा अहिले खपत कम र उत्पादन बढी भएको पोखरेल बताउनुहुन्छ । जाडो कम हुँदै गएर जनजीवन सहज भएसँगै पुनः अण्डाको माग बढ्ने उहाँले बताउनुभयो । अण्डाको उत्पादन लागत मूल्य प्रतिगोटा रु. १९.१२ पर्न आउँछ । यसलाई हिसाब गर्दा किसानको लागत मूल्य प्रतिक्रेट रु.५७४.६ पर्न आउँछ । लागत मूल्य नजिक पुगेको अवस्थामा पुनः अण्डाको मूल्य घटेपछि किसान थप नोक्सानमा पर्ने भएका छन् ।

संघले बजारको अवस्था अनुसार अण्डाको समर्थन मूल्य तलमाथि गर्ने गरेको छ । पोखरेलले मूल्य बढ्दा सरकारी निकायबाट ध्यानाकर्षण हुने गरेको भएपनि घट्दा चिन्ता नगर्ने गरेको गुनासो गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस !