चितवनः जिल्लामा पालिएका ८० हजार पशु चौपायामा खोरेत बिरुद्धको खोप लगाईने भएको छ । यहाँ पालिएका पशु चौपायामा खोरेतको समस्या देखिए पछि खोरेत बिरुद्धको खोप लगाउन लागिएको हो ।
पशु सेवा कार्यालय चितवनका प्रमुख डा. प्रभात न्यौपानेका अनुसार कार्यालयमा उपलव्ध ८० हजार डोज खोप जिल्लाका सबै पालिकामा बितरण गरिएको छ । यहाँ पालिएका गाई, भैसी र बंगुरमा यो खोप लगाउन लागिएको उहाँले जानकारी दिनुभयो । जिल्लामा एक लाख गाई भैसी पालिएको उहाँले वताउनुभयो । उहाँले भन्नुभयो “कतिपय किसानले पहिलेनै लगाई सक्नु भएको छ । अहिले ८० हजार डोज खोप लगाए पछि रोग नियन्त्रणमा आउने विश्वास छ ।”
मंङ्सिर महिनामा पूर्बी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको थियो । त्यस पछि कार्यालयले पशु चौपायालाई खोरेत बिरुद्धको खोप दिन लागेको हो ।
यो रोग भाइरसका कारण सर्ने गर्दछ । यो रोग लागेका गाई भैसीमा दुई देखि तीन दिन १०४ डिग्री ज्वरो आउने, जिव्रोको छाला जाने, गर्भवती भए गर्भ तुहिने, दुध उत्पादन घटाउने, खुट्टामा घाउ हुने, दाना पानी नखाने जस्ता लक्ष्याणहरु देखिने उहाँले जानकारी दिनुभयो । यो रोग बढि संख्यामा गाई, भैसी र बुंगुरमा देखिने गर्दछ ।
जिल्लाका सबै पशु चौपायालाई खोरेत बिरुद्धको खोप लगाईएको भए पनि बाहिरबाट खरिद गरेर ल्याईएका पशुमा यो रोग देखिने गरेको उहाँले बताउनुभयो । बाहिरबाट खरिद गरेर ल्याएका पशुलाई २१ दिन सम्म क्वारेन्टाईनमा राखेर मात्र आफ्नो वथानमा मिसाउन उहाँले आग्रह गर्नुभयो । उहाँले थप्नुभयो “संक्रमण देखिएका पशुहरुलाई समेत छुट्टै राखेर उपचार गर्नुपर्छ ।” जंगली जनावारहरुबाट पनि सर्न सक्ने भएकाले चरनका लागि लैजाने गाई भैसीमा बढी यसको संक्रमण देखिने उहाँले बताउनुभयो । हरेक फर्ममा जैबिक सुरक्षाको बिधि अपनाएर वर्षमा दुई पटक खोरेत बिरुद्धको खोप लगाउन कार्यालयले पशु पालन गर्ने किसानहरुलाई आग्रह गरेको छ ।






