चितवन: भरतपुर महानगरपालिकाको शहरी क्षेत्रमा सुरु गरिएको भूमिगत बिद्युतीकरणको काम ८३ प्रतिशत सम्पन्न भएको छ । मुख्य राजमार्गका केही स्थानमा बाहेक अन्य क्षेत्रमा भूमिगतको काम सम्पन्न भएको हो ।

नेपाल बिद्युत प्राधिकरणको पोखरा–भरतपुर बितरण प्रणाली सुदृढिकरण आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीका अनुसार भरतपुर महानगरपालिको मूख्य सहरी क्षेत्र अन्तर्गत हाकीमचोक, केन्द्रीय वस ट्रमिनल, शहिदचोक देखि बिरेन्द्र क्याम्पस सम्म भूमिगत बिद्युतीकरणको लाईन जडानको काम बाँकी रहेको छ । यहाँको काम ८३ प्रतिशत सकिएको बताउँदै उहाँले यहाँ पाइप जडान, डिभाईस जडान, फाउण्डेसन निर्माण लगायतका कामहरु सकिएको बताउनुभयो । बाँकी रहेको भूमिगतको काम संगै घरमा जोड्ने कामहरु पनि भईरहेको उहाँले जानकारी दिनुभयो । फागुन मसान्त सम्ममा काम सम्पन्न गर्ने लक्ष्य लिईएको छ ।
केन्द्रिय बस ट्रमिनल देखि गोन्द्राङ् सम्मको सडकमा पहिला ३३ केभिए लाईन मात्रै भूमिगत गर्ने भनिएको भए पनि अहिले थप गरी ११ केभिए र ४ सय भोल्टको लाइनलाई भूमिगत गरिने उहाँको भनाई छ । पछिल्लो सम्झौता अनुसार भरतपुर महानगरपालिका भित्र चनौली लाईन जडानका लागि भरतपुर महानगरको मुख्य शहरी क्षेत्रमा भूमिगत मार्फत काम गर्दै लगिएको छ । भरतपुर महानगर भित्र बिद्युतीय तार भूमिगत गर्नका लागि रु १ अर्ब ४० करोड लागत लाग्ने छ । सुरुवाती समयमा रु १ अर्ब ३० करोड वजेट भरतपुरलाई बिनियोजन गरिएको थियो । काम थपिए संगै रु १० करोड थप गरिएको हो ।

निर्माणको ठेक्का भारतको टाटा प्रोजेक्ट लिमिटेडले पाएको थियो । सन् २०२१ अक्टोबर देखि ठेक्का सम्झौता गरि काम सुरु गरिएको हो । ठेक्का सम्झौता अनुसार पहिलो चरणको समय सन् २०२४ को जनावरी २० मा सकिए संगै पटक पटक म्याद थप गरेर कामलाई अघि वढाईएको हो । एशियाली बिकास बैंकको सहयोगमा प्राधिकरणले यो आयोजना अघि बढाएको हो ।

प्रतिक्रिया दिनुहोस !