चितवनः जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न आएका जापानिज इन्सेफ्लाइटिस संक्रमित मध्ये छ जनाको मृत्यु छ । साउत यता अस्पताल आएका १७ जना संक्रमित मध्ये छ जनाको मृत्यु भएको हो ।
जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख निर्मल घिमिरेका अनुसार मृत्यु हुनेमा दुई जना भरतपुर महानगरपालिका, एक जना खैरहनी नगरपालिका, दुई जना राप्ती नगरपालिका र एक जना कालिका नगरपालिकाका रहेका छन् । उनीहरुमध्ये एक जना ८९, एक जना ८१, दुई जना ७०, एक जना ४२, एक जना ३९ वर्षका रहेका छन् ।
संक्रमित मध्ये मध्ये १० जना महिला हुन भने ७ जना पुरुष रहेका छन् । उनीहरु मध्ये ३ जना १५ बर्ष मुनिका, ५ जना १५ देखि ६० बर्ष भित्रका र ९ जना ६० वर्ष माथिका रहेका छन् ।
संक्रमित मध्ये १५ जनाले खोप नलगाएको र दुई जनाले खोप लगाए– नलगाएको बारे स्पष्ट नरहेको उहाँले जानकारी दिनुभयो । संक्रमित मध्ये सात जना भरतपुर महानगरपालिका भित्रका रहेका छन् । यस्तै खैरहनी नगरपालिकाका चार जना, माडी नगरपालिकाका एक जना, रत्ननगर नगरपालिकाका एक जना, राप्ती नगरपालिकाका दुई जना, कालिका नगरपालिकाका दुई जना रहेका छन् ।
यो रोग क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाईबाट सर्ने किटजन्य सरुवा रोग हो । यो लामखुट्टे घर बाहिर वस्न रुचाउने, घर बाहिरनै टोक्ने, साँझ र बिहान बढी सक्रिय हुने गर्दछ । यो लामखुट्टेले संक्रमित सुँगुर, बंगुर, हाँस जस्ता पशुपक्षीलाई टोक्यो भने सर्दछ । धान खेतीमा समेत यस लामखुट्टेले अण्डा पारेर लार्भा बनाउने गर्दछ ।






