चितवन), ११ मङ्सिर :
चितवनको कालिका नगरपालिका–१०, सिद्धि तिनदोभानस्थित कयर खोलामा पक्की पुल निर्माण सुरु भएको छ । चेपाङ समुदायको बसोबास रहेको यस क्षेत्रलाई सुरक्षित र दिगो आवागमनसहित पर्यटनसँग जोड्ने उद्देश्यले नगरपालिकाले आफ्नै पहल र लगानीमा पुल निर्माण अघि बढाएको हो । बुधबार एक विशेष समारोहबीच नगर प्रमुख विनोद रेग्मीले पुलको शिलान्यास गर्नुभयो । उहाँका अनुसार कयर खोलाले हरेक वर्ष मानिस बगाउने गरेको र ज्यान जाने दुर्घटना दोहोरिरहेकाले स्थानीय स्तरबाटै बजेट जुटाएर काम अघि बढाउनुपर्ने आवश्यकता महसुस भएर पुल निर्माण थालिएको हो । “हरेक वर्ष ४–५ जनासम्मको ज्यान जाने अवस्था थियो । अब पुल बनेपछि तटबन्धसहित बस्ती पनि सुरक्षित हुन्छ,” प्रमुख रेग्मीले बताउनुभयो । उहाँका अनुसार यो पुलले कालिकाका दुई भागलाई मात्र जोड्ने होइन, इच्छाकामना गाउँपालिकाका विभिन्न ठाउँसँग पनि प्रभावकारी रूपमा जोड्नेछ । “शक्तिखोर–फिस्लिङ सडक जस्तै, सिद्धिमा निर्माण भइरहेको यो पुलले इच्छाकामना हुँदै राजमार्गसम्मको पहुँच सहज बनाइदिनेछ,” उहाँले भन्नुभयो , “ सिद्धि तिनदोभानको कयर खोला तर्ने स्थानमा पुल बन्न लागेपछि चौकीडाँडा, देउजर, छेरेबाङ र पाइरामाङका स्थानीयवासी अत्यन्तै खुसी छाउनेछ । ” . पुल निर्माण भएसँगै पहाडी र समथर बस्तीलाई जोडेर आन्तरिक पर्यटन, उत्पादन तथा बजारिकरणमा ठूलो फड्को मार्ने अपेक्षा नगरपालिकाले राखेको छ ।
सो अवसरमा कालिका–१० का वडाध्यक्ष नरजंग प्रजा महेन्द्रले चेपाङ बहुल क्षेत्रको विकासका लागि आफूले निरन्तर पहल गर्दै आएको बताउँदै पुल निर्माणले स्थानीय जीवनस्तरमा ठूलो परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो । “अब पानी प¥यो भनेर रोकिनुपर्ने, खोला तर्न नसक्ने अवस्था रहने छैन । खोलाले बगाउने भय समाप्त हुन्छ,” उहाँले खुशी व्यक्त गर्नुभयो ।
नगरपालिकाको भौतिक पूर्वाधार शाखा प्रमुख ई. किशोर खतिवडाका अनुसार कयरखोला पुल परियोजनामा संघीय सरकारको सशक्त अनुदानबाट आर्थिक वर्ष २०८१÷८२ मा दुई करोड रुपैयाँ विनियोजन भएको थियो । तर विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार नसकेकाले तत्काल काम अघि बढ्न सकेन । पछि डिजाइन भेरिफिकेसनदेखि टेन्डर प्रक्रिया पूरा गरी २०८२ असार १७ गते ठेक्का सम्झौता गरिएको हो । संघीय तहबाट थप बजेट नआएपछि नगरपालिकाले नै आफ्नै स्रोतबाट थप दुई करोड रुपैयाँ विनियोजन गरी बहुवर्षीय योजनाका रूपमा रु. ४ करोड ३८ लाख ६७ हजार ८५५ मा कार्य सुरु गरिएको शाखा प्रमुख खतिवडाले बताउनुभयो । सम्झौता अनुसार पुल २०८३ पुस ३० गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । ई. खतिवडाका अनुसार पुल प्री–स्ट्रेस्ड कन्क्रिट ब्रिज, ४० मिटर स्पान, सवारी भाग (डेक) ६ मिटर र कुल चौडाइ ८.४ मिटरको रहनेछ । पुलका दुवै तर्फ ६०–६० मिटर एप्रोच सडक पनि निर्माण कम्पनीले बनाइदिने सम्झौता भएको उहाँले बताउनुभयो ।
यो काम के.एन.एस., आइ.पी.एल., एस्कोट संयुक्त लगानी (ज्वाइन्ट भेन्चर) ले ठेक्कामा लिएर अघि बढाइरहेको छ ।
नगरपालिकाको लक्ष्य यो पुलमार्फत सडक सञ्जाल विस्तार, आर्थिक गतिविधि वृद्धि र पर्यटन प्रवद्र्धनमा ठोस योगदान पु¥याउने रहेको बताइएको छ ।






