चितवनः यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चितवनमा २२ हजार ३३८ जना नयाँ मतदाता थपिएका छन् । जस मध्ये बायोम्याट्रीकबाट ११ हजार ९० जना र राष्ट्रिय परिचय पत्र मार्फत ११ हजार २४८ जना थपिएका हुन ।

जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भिमशेन कार्कीका अनुसार वायोम्याट्रीकबाट थपिएका मतदाता मध्ये ६ हजार ३११ पुरुष, ४ हजार ७७६ जना महिला र तीन जना तेस्रो लिङ्गी रहेका छन् । उहाँका अनुसार यस जिल्लाबाट अन्य जिल्लाका २ हजार १२३ जना मतदाताले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । असोज १० गते देखि मङ्सीर ५ गते साँझ सम्म ती मतदाताले आफ्नो नाम दर्ता गराएको उहाँले जानकारी दिनुभयो ।

यस्तै त्रुटी सच्याउने ३४४ जना र ठाउँसारीका १ हजार ७२८ जनाले निवेदन दिएका छन् । उहाँका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ मा जिल्लामा ४ लाख २१ हजार ३९२ जना मतदाता रहेका थिए । जसमा एक जनता तेस्रो लिङ्गी रहेको उहाँले बताउनुभयो ।

निर्वाचन आयोगले अन्तिम नामावली सार्वजनिक गर्दा सम्म यो संख्यामा केही थप हुन सक्ने उहाँले बताउनुभयो । बाहिरी जिल्लामा रहेका चितवन बासीले पनि नाम दर्ता गराएको हुनसक्ने भएकाले यो संख्यामा थपघट हुने उहाँले बताउनुभयो । यस संगै फागुनमा हुने निर्वाचनका लागि जिल्लामा १६२ वटा स्थल यथावत राखिने भएको छ ।

जिल्ला मतदान स्थल पुनरावलोकन समितिले पुराना स्थलहरुलाई यथावत राख्ने निर्णय गरेको कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार मतदान केन्द्र भने थप हुने छ । एक हजार मतदाता बराबर एउटा मतदान केन्द्र हुने भएकाले थपिएका मतदाताको आधारमा मतदान केन्द्र थप गरिने छ । समितिले मतदान स्थलको निरिक्षण गरेर पठाएको हो ।

प्रतिक्रिया दिनुहोस !