चितवनः भरतपुर महानगरपालिका भित्रका २१० किलोमिटर सडकमा स्मार्ट बत्ती जडान गरिएको छ । दुई चरणमा गरेर ती सडकमा स्मार्ट बत्ती बालिएको हो । ती सडकको मुख्य चोकहरुमा १६ वटा हाइमास्ट र ७५ वटा मिनमास्ट जडान गरिएको छ ।
नेपाल बिद्युत प्राधिकरण संगको सहकार्यमा महानगरपालिकाले स्मार्ट लाईट जडान गरेको हो ।
‘उज्यालो सहर भरतपुर’ अभियान अन्तर्गत पहिलो र दोस्रो चरणमा राजमार्ग र भित्री सडकमा ६ हजार बत्ती जडान गरिएको छ । महानगर प्रमुख रेनु दाहालका अनुसार राजमार्ग, सहायक राजमार्ग, लिंक सडक, वडाका सिमानाका सडक, रणनैतिक महत्व वोकेका सडक र मानिसहरुको चहलपहल बढी हुने सडकहरुमा स्मार्ट लाईट जडान गरिएको हो । दुई चरणमा गरेर रु ३५ करोडको लागतमा भरतपुर महानगर क्षेत्रलाई उज्यालो सहर वनाईएको दाहालले बताउनुभयो ।
सडकमा यात्रा गर्दा आमसर्वसाधारण, पैदलयात्री, पर्यटक, महिला, विद्यार्थी तथा सवारीसाधनको आवतजावतलाई सहज र सुरक्षित बनाई सडक दुर्घटना न्यूनीकरण गर्न र आन्तरिक तथा बाह्य पर्यटकलाई रात्रिकालीन सुरक्षाको अनुभूति दिलाउन ‘उज्यालो सहर भरतपुर’ अभियान सार्थक हुने उहाँले बताउनुभयो ।
भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले स्मार्ट सहरको पहिलो खुड्किलो स्मार्ट सडक बत्ती रहेको भन्दै यस कार्यक्रमअन्तर्गत पाँच वर्षसम्म निर्माण कम्पनीले मर्मतसम्भार गर्ने बताउनुभयो । उहाँका अनुसार अध्यारो भए पछि डिजिटल प्रबिधिबाट आबश्यकता अनुसारको चहकिलो हुने गरी बत्ती बाल्न सकिने छ । यस अघि पोलमा रहेको स्विच बाल्नु पर्ने गरेकोमा अब एकै ठाउँबाट बत्ती बाल्न सकीने भएको अधिकारीले वताउनुभयो ।
भरतपुर महानगरपालिकाका इन्जिनियर साकार लामाका अनुसार मानिसको आवतजावत बढी हुने क्षेत्रमा स्मार्ट बत्ती राखे संगै दुर्घटनामा कमी आउने छ । उहाँका अनुसार नेपालमा पहिलो पटक प्राधिकरणले भरतपुर महानगर संग सहकार्य गरेर स्मार्टलाईट जडान गरेको हो । यो बत्ती जडान गरे संगै बिद्युत खपतमा कमी आउने छ । प्रभावकारी देखिए पछि अन्य पालिकाहरुमा पनि प्राधिकरणले प्राबिधिक सहयोग मात्रै गरेर बत्ती जडानको काम सुरु गरेको उहाँले बताउनुभयो । पहिलो चरणमा भरतपुरमा ७८ दशमलब २ किलोमिटर सडकमा स्मार्ट लाइट जडान गरिएको थियो । दोस्रो चरणमा १२६ किलोमिटर जडान गरिएको हो । यसै गरी ६ लेन सडकको ६ किलोमिटर क्षेत्रमा स्मार्टलाईट जडान गरिएको छ ।








