चितवनः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० वर्षभन्दा पुराना एम्बुलेन्स सञ्चालन गर्न नपाइने जनाएपछि एम्बुलेन्स अभाव हुने चिन्ता व्यक्त गरिएको छ । हाल सञ्चालनमा रहेका एम्बुलेन्स मध्ये ८० प्रतिशत १० वर्ष पुराना रहेका कारण अभाव हुने चिन्ता व्यक्त गरिएको हो ।
संयुक्त एम्बुलेन्स चालक संघका केन्द्रीय अध्यक्ष नवराज लामिछाने हाल सञ्चालनमा रहेका तीन हजार ३०० एम्बुलेन्स मध्ये झण्डै ८० प्रतिशत १० वर्ष पुराना रहेको बताउनुभयो । ती मध्ये १० हाराहारी क वर्गका, १५० हाराहारी ख वर्गका र बाँकी ग वर्गका एम्बुलेन्स रहेका छन् । ग वर्गका ८० प्रतिशतभन्दा बढी एम्बुलेन्स १० वर्ष पुराना रहेको लामिछाने बताउनुहुन्छ ।
उहाँका अनुसार ग वर्षका ८० प्रतिशत हाराहारी एम्बुलेन्स नविकरण समेत हुन सकेका छैनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सूचना जारी गर्दै १० वर्षभन्दा पुराना एम्बुलेन्स सञ्चालन भएको पाइएमा सञ्चालन अनुमति दर्ता खारेज हुने व्यवस्था गरिएको जनाएको थियो । यससँगै संघले विज्ञप्ति जारी गरेर तत्काल एम्बुलेन्स रोकिएमा बिरामी बोक्ने एम्बुलेन्सको अभाव हुने जनाएको छ । साथै अधिकांश शव वाहन १० वर्ष पुराना भएको भन्दै दैनिक २०–२५ वटा शव राजधानी बाहिर पठाईने गरेकोमा समस्या हुने जनाएको छ ।
स्वास्थ्य ऐन २०७५ ले स्वास्थ्य संस्था बाहेक अन्यलार्ई एम्बुलेन्स खरिदको अनुमति नदिने उल्लेख गरेसँगै एम्बुलेन्सको अभाव भएको भन्दै विज्ञप्तिमा एम्बुलेन्स सञ्चालनमा गैरसरकारी संस्था, सामुदायिक संघ संगठन तथा सहकारीलाई समान अधिकार दिन माग गरिएको छ । एम्बुलेन्स क्षेत्रमा कुनै पनि किसिमको एकाधिकार लगाउन नहुने विज्ञप्तिमा जनाईएको छ ।
भूगोल, सडक अवस्था, आर्थिक पृष्ठभूमि र आम नागरिकको पहुँचलाई नहेरी गरिएको यस निर्णय व्यवहारिक, न्यायिक तथा मानवीय दृष्टिले अनुपयुक्त भएको भन्दै संघले तत्काल पुनर्विचार र संशोधन गर्न माग गरेको छ । संघले यस अघि यससँगै अन्य मागहरु राख्दै मन्त्री र राजनीतिक नेतृत्वलाई ध्यानाकर्षण गराएको थियो ।








