चितवनः आफ्नो जीवनको महत्वपूर्ण समय कृषि विकास बैंकमा सेवा गरेर अवकास पाएपछि भरतपुर महानगरपालिका वडा नम्बर १२ का हिमप्रसाद भट्ट्राई अहिले अम्बा खेतीमा रमाउन थाल्नुभएको छ । अध्ययनका क्रममा एमएसि हटिकल्चर फूड् साइन्स (फलफूल विज्ञान) मा गर्नुभएका भट्टराई अहिले खैरहनी नगरपालिका वडा नम्बर ५ बुडौलीमा तीन बिगाहा जग्गा भाडामा लिएर अम्बा खेती गर्दै आउनुभएको छ ।
वरिपरि कम्पाउण्ड गरेर रासायनिक मलको प्रयोग बिनानै व्यवसायीक रुपमा अम्बा खेती गर्दै आएको उहाँले बताउनुभयो । उहाँले अहिले दुई प्रजातीका अम्बाहरु लगाउँदै आउनुभएको छ । पाँच जना नियमित रोजगारी सहित उहाँले व्यवसायीक रुपमा अम्बा खेती गर्दै आउनुभएको हो । बिगत ६ वर्षदेखि अम्बा खेती गर्दै आउनुभएका उहाँ उत्पादित अम्बाले बजार पाउन नसक्दा निकै चिन्तित हुनुहुन्छ ।
उहाँले भन्नुभयो “स्थानीय उत्पादन होभन्दा व्यवसायहीहरुले विश्वास गर्नुहुन्न ।” नेपालमा भारत र चीनबाट अम्बा आउने गरेको बताउँदै उहाँले स्थानीय बारीको उत्पादनलाई समेत बजार दिन व्यवसायीलाई आग्रह गर्नुभयो । अहिले स्थानीय बजारमा अम्बा बिक्री गर्दै आएको भए पनि अव काठमाडौं र पोखरा समेत पठाउने योजनामा रहेको उहाँले बताउनुभयो ।
उहाँले गुनासो गर्नुभयो “टिपेर बजारमा लैजादा यहीँको उत्पादन हो र भनेर जिस्काउने गर्दछन् । मलाई बाहिरको ल्याएर बेच्नु पर्ने जरुरी छैन ।” उहाँले थाइल्याण्ड र श्रीलंकन जातका अम्बाहरु लगाएर उत्पादन गरी बजारमा लैजाने गर्नुभएको छ । बाह्र महिनानै उत्पादन हुने हुँदा यो व्यवसायीक रुपमा खेती गरेको उहाँले सुनाउनुभयो । अहिलेको सिजनमा मात्रै ५० टन हाराहारी अम्बा उत्पादन गर्ने लक्ष्यका साथ आफुले व्यवसायीक रुपमा खेती गरेको उहाँले बताउनुभयो । बिगत ६ वर्षदेखि व्यावसायीक रुपमा अम्बाको खेती गर्दै आउनुभएका भट्टराई उत्पादन लिन थालेको तीन बर्ष भएको बताउनुहुन्छ ।
सामान्य उत्पादन बिरुवा लगाएको १८ महिनाबाट लिन सुरु गरेको भएपनि पूर्ण रुपमा उत्पादन लिन थालेको ३ वर्ष भएको उहाँले सुनाउनुभयो । आयातित अम्बाका कारण स्थानीयले बजार नपाउँदा व्यवसायीक रुपमा गर्ने किसानको संख्या नगन्य मात्रामा रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार अहिले जिल्लामा ७ जनाले व्यवसायीक रुपमा अम्बाको खेती गर्दै आएका छन् । उनीहरु मध्ये कतिपयले प्राबिधिक ज्ञान नहुँदा असार महिनामा मात्र उत्पादन लिने गरेका छन् । भट्टराईको अम्बा बगैंचामा उत्पादित अम्बा अहिले एउटा आधा किलोदेखि १ दशमलब ५ किलोसम्मका रहेका छन् । सोही जमिनमा उहाँले अम्बासँगै ड्रागन फूर्डको समेत खेती गर्दै आउनुभएको छ ।
जिल्ला कृषि विकास कार्यालय चितवनका बागबानी विकास अधिकृत स्वस्तीका चौहानका अनुसार व्यवासायीक रुपमा धेरै क्षेत्रफलमा खेती गर्ने भट्टराई मात्रै हुनुहुन्छ । अन्य ५ ÷६ जनाले दुईदेखि १० कठ्ठा क्षेत्रफलमा गर्ने गरेका छन् । अहिले जिल्लामा व्यवसायीक रुपमा अम्बा खेती ५ बिगाहा क्षेत्रफलमा रहेको उहाँले जानकारी दिनुभयो । अम्बा थोरै बोटमा पनि धेरै फल्ने जाडो मौषममा ग्राहकले चिसोको समस्या हुन्छ भनेर खरिद नगर्ने हुँदा बजार पाउन कठिन हुने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “गर्मी समयमा माग धेरै हुन्छ । जाडोमा माग नहुँदा समस्या भयो ।” स्थानीय उत्पादनका बारेमा व्यवसायीहरुलाई ज्ञान नहुँदा समेत समस्या भएको उहाँको भनाई छ ।








