चितवन : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको फ्रेन्चाइज टिम चितवन राइनोजले नयाँ प्रतिभा पहिचानका लागि ‘ट्यालेन्ट हन्ट’ कार्यक्रम सुरु गरेको छ । यस वर्ष टिमले चितवन जिल्लाका तीन स्थानसँगै बागमती प्रदेशको राजधानी हेटौंडालाई पनि समेट्दै कार्यक्रम सञ्चालन गरेको हो ।
राइनोजका सिओओ आशिष खड्काका अनुसार पहिलो चरणको ट्यालेन्ट हन्ट आज हेटौंडा, भरतपुर र रत्ननगरमा भएको छ । हेटौंडामा हेटौंडा स्पोट्र्स एकेडेमी, रत्ननगरमा ईस्टर्न क्रिकेट एकेडेमी र भरतपुरमा भरतपुर क्रिकेट एकेडेमीमा पहिलो चरण सञ्चालन गरिएको हो । उहाँका अनुसार पहिलो दिन छानिएका खेलाडीहरूमध्येबाट भोलि गौतमबुद्ध नमुना क्रिकेट मैदानमा अन्तिम छनोट (फाइनल सेलेक्शन राउण्ड) गरिनेछ । त्यहाँबाट एक जना ‘आइकोनिक प्लेयर’ र दुई जना ‘डेभलपमेन्ट स्क्वाड’ का लागि छनोट गरिने बताइएको छ ।
राइनोजका मुख्य प्रशिक्षक कलाम अलीले पहिलो दिनको ट्यालेन्ट हन्ट निकै सफल र प्रभावकारी भएको बताउनुभयो । उहाँका अनुसार केही उत्कृष्ट र संभावनायुक्त खेलाडी भेटिएका छन् र उनीहरूलाई भोलिको फाइनल छनोटका लागि सर्टलिस्ट गरिएको छ ।
एनपीएल तयारीका क्रममा राइनोजले दिल्लीमा फ्लड लाइटमा रातको खेल अभ्यास सम्पन्न गरेको छ । फ्लड लाइटमा खेल्दा आउने सम्भावित समस्या र व्यवस्थापनका उपायबारे अभ्यास गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो , “दिल्लीमा ७–८ दिनको अभ्यासपछि खेलाडीहरूले राम्रो अनुभव हासिल गरेका छन् ।” त्यस्तै, खेलाडी देव खनालले पनि दिल्लीको अभ्यास उपयोगी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सुरुमा लाइटमा खेल्दा अलि कठिन भए पनि अनुभवसँगै सहज भयो । नेपाली र विदेशी खेलाडीबीच राम्रो समन्वय बनेको छ ।”
सिओओ खड्काका अनुसार हाल पाँच जना विदेशी खेलाडी टिममा आएका छन्, भने आवश्यकता अनुसार थप एक जना ल्याइनेछ । विदेशी र नेपाली खेलाडीबीचको संयोजन सन्तुलित रहेको उहाँको भनाइ छ । आगामी मंसिर १ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) टियु क्रिकेट मैदानमा फ्लड लाइटको प्रकाशमा समेत खेल आयोजना हुन सक्ने जनाइएको छ । अघिल्लो संस्करणमा चितवन राइनोज चौथो स्थानमा रहेको थियो ।
–––








